
पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विक्रम संवत् २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ ।
अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३०औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट अहिलेसम्म ३१ हजार ७४२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले जानकारी दिइन् ।
सोही अवधिमा २१ लाख ६१ हजार ५५७ जनाको आँखा परीक्षण गरेको डाइरेक्टर डा. श्रेष्ठले बताइन् । ‘यो अवधिमा विद्यालय आँखा जाँच कार्यक्रममा ३ लाख ९८ हजार ७२७ जनाको आँखा जाँच गरिएको छ,’ उनले भनिन्, ‘११ हजार ३२७ जनालाई निःशुल्क चश्मा वितरण पनि गरियो ।’
विभिन्न स्थानमा गरिएको आँखा जाँच शिविरबाट ८ लाख ३७ हजार १५० लाभान्वित भएका उनले जानकारी दिइन् ।
अस्पतालले उत्कृष्ट सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीको आँखाको उपचार पोखरामा मै सम्भव भएको नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले बताए । जसले गर्दा समय र पैसाको बचत भएको अध्यक्ष गुरुङले बताए । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ । ‘अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ,’ अध्यक्ष गुरुङ भन्छिन् ।
पछिल्ला समय अस्पतालमा नयाँ सुविधा बढेकाले पनि बिरामी संख्या बढेको छ । पुरानो सेवाबाहेक आँखाको रेटिनाको शल्यक्रिया, कन्ट्याक्ट लेन्स सुविधा, भिजन थेरापी नयाँ प्रविधि ल्याएपछि अस्पतालमा झनै बिरामीको संख्या बढेको डा. श्रेष्ठले बताइन् । अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको डा. श्रेष्ठको दाबी छ ।