२१ असार २०८३, आइतबार
चौतर्फी सफलता

सामुदायिक विद्यालयमा पढाइ – एकै वर्षमा ४ विज्ञापनमा लोक सेवा पास

चैत ४, २०७९
सामुदायिक विद्यालयमा पढाइ – एकै वर्षमा ४ विज्ञापनमा लोक सेवा पास

सुन्दा अचम्म लाग्न सक्छ, लोक सेवा आयोगले लिएको परीक्षामा एकै व्यक्तिले १ वर्षमा ४ वटा परीक्षा उत्तीर्ण गरिन् । तर धनकुटाकी २३ वर्षीया युवतीले १ वर्षमा ४ वटा परीक्षामा नाम निकालेकी छन् ।

धनकुटाकी नविना दाहालले एकै वर्षमा ४ वटा लोक सेवा परीक्षामा नाम निकाल्न सफल भएकी छन् । 

सहायक महिला विकास निरीक्षक (कोशी प्रदेश), सहायक पाचौं सामान्य प्रशासन (गण्डकी प्रदेश), सहायक पाचौं प्रशासन लेखा (कोशी प्रदेश) र  नायब सुब्बा जलेश्वरबाट खुलातर्फ १ नम्बरमा सिफारिस भएकी छन् उनी । हाल उनी विराटनगर महानगरपालिकाको २ नम्बर वडामा कार्यरत छिन् ।

लोक सेवा आयोग जलेश्वर कार्यालय अन्तर्गत उनले दिएको नायव सुब्बा सोसरह पदको परीक्षामा पहिलो नम्बरमा नाम निकालेकी छन् । खुला कोटामा उनले नाम निकालेकी हुन् । उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीमा पदस्थापन भएको छ । 

तनहुँको म्याग्दे गाउँपालिका सहायक पाँचौं भोजपुरको अरुण गाउँपालिका महिला विकास शाखामा रहेर पनि उनले काम गरिन् । 

उनी स्नातक सकेर डिग्रीमा अध्ययन गरिरहेकी छन् । उनका बुवाआमा नै शिक्षक हुन् । बुवा हरि दाहाल, आमा शान्ता दाहाल दुवै जना धनकुटामै पढाउँछन् । बुवाआमा दुवै जना शिक्षक भएकाले पनि उनको पठनपाठनमा कुनै समस्या छैन । उनले पनि सामुदायिक विद्यालयबाटै अध्ययन गरेकी हुन् । 

निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढिरहँदा नविनाले सामुदायिक विद्यालयको पनि पढाइ कमजोर छैन भन्ने पुष्टि गर्छिन् । जुनसुकै विद्यालयमा पढे पनि आफ्नो पढाइ र लगनशीलतामा भर पर्ने उनी बताउँछिन् ।

पहिलोपटक दिएको परीक्षामा असफल भएपछि दोस्रोपटक परीक्षा दिँदा पास भएको उनी बताउँछिन् । फेसबूकका फोटो हेरेर धेरै आफन्तहरूले ‘यो घुम्छे मात्रै, केही गरी खान्न’ भन्ने गरेको उनी सम्झिन्छिन् । लोक सेवाको परीक्षामा पास गरेपछि गाली गर्नेहरू पनि खुशी भएका छन् । 

null

‘कोरोनाको महामारीभन्दा अगाडि पहिलोपटक लोक सेवाको परीक्षा दिएकी थिएँ । मलाई सफलता मिलेन । हरेश पनि खाइनँ । मेरो तयारी पुगेको रहेनछ भनेर थप मेहनत गर्न थालें तर नेपालमा लोक सेवा पास गर्न टुप्पी कसेर पढ्नुपर्छ भन्ने चलन छ । मैले त्यसरी कहिल्यै पनि पढिनँ । राति अबेरसम्म पढेर सुत्ने र बिहान ३ बजे नै उठेर पढ्नुपर्छ भन्छन्, त्यो अहिलेसम्म मैले गरेको छैन । माइन्ड फ्रेस बनाएर पढ्ने हो । म परीक्षा लेख्नुभन्दा २ दिन अगाडि पनि फिल्म हेर्न हलमा गएको थिएँ । पढाइभन्दा प्राक्टिसमा धेरै ध्यान दिएँ । कोरोनाको समयमा कलेज बन्द भएकाले लोक सेवाको तयारी गर्न थप मद्दत पुग्यो,’ उनले भनिन् । 

मेहनत गरेर अगाडि बढेमा सफल भइन्छ भन्ने विश्वास र भरोसा हुनुपर्ने उनले बताइन् । लोक सेवामा उत्तीर्ण हुनका लागि पढ्ने तरिका, पढेको कुरा सम्झने तरिका र लेख्ने तरिका फरक पार्नका लागि पनि दिमागलाई दबाब नभई ‘फ्रेस’ बनाउनुपर्ने उनको तर्क छ । 

नविना र उनका दाइ जुम्ल्याया हुन् । उनी १ वर्षकी हुँदा उनलाई मामा घर लगिएको थियो । उनको मामा घर भोजपुर हो । ४ वर्षको भएपछि उनलाई घरमा ल्याएर पढाउन थालिएको हो । जुम्ल्याया बच्चा हुर्काउन समस्या भएको भन्दै उनलाई मामा घरमा लगिएको थियो ।

उनले आफ्नो लक्ष्य मुख्यसचिवसम्म भएको बताइन् । ‘कतिपय माथिल्ला पद राजनीतिले पनि असर गर्छ भन्छन्,’ उनले भनिन्, ‘तर त्यसो नभएमा मेरो लक्ष्य मुख्यसचिव हुने भन्ने नै हो ।’

आफैंले आफैंलाई सफल बनाउन खोज्नुपर्ने उनी बताउँछिन् । ‘विश्वास आफूले आफूलाई गर्दा १ दिन सफलता हातमा पर्छ,’ उनले भनिन्, ‘ब्याचलर सकेर जब काठमाडौं छिरे, तब मैले देखेको एउटा सपना, जुन आज पूरा भएको छ ।’

परिवारको साथ र हौसलाले पनि सहयोग गरेको उनले बताइन् । दोहोरो जिम्मेवारीका कारण पनि महिलाहरूले पढ्न पाउँदैनन् तर उनको जीवनमा यो कुराले मेल खाएन । परिवारले पढ्ने वातावरण मिलाइदिएकै कारण सफलतामा साथ मिलेको उनले बताइन् । देशको आधाभन्दा बढी जनसंख्यालाई प्रतिनिधित्व गर्ने महिलालाई अवसरबाट वञ्चित नगरी उनीहरूलाई काम गर्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ । 

आफ्नो काम र काम गर्ने शैलीले पनि फरक पार्ने भएकाले आफूसँग भएको क्षमता प्रदर्शन गर्ने बेला आएको उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्