०४ साउन २०८३, सोमबार

गीतसंगीतलाई फिल्मले महत्व नदिएको संगीतकारको चिन्ता

गीतसंगीतलाई फिल्मले महत्व नदिएको संगीतकारको चिन्ता

नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ ।

दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ । 

'प्रेम गीत', 'नाई नभन्नु ल', 'म यस्तो गीत गाउँछु'लगायत चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउन सकेन ।

प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीतसङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन ।

भिडियोमा बढी लगानी गर्दा गीतसङ्गीतको स्तरमा कमी आएको सङ्गीतकार अर्जुन पोखरेल स्वीकार्छन्। 'चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । एकलरूपमा गीतिसङ्ग्रहमा आउनेमा भने त्यो लागु हुँदैन', उनले भने। 'स्टुपिड मन', 'प्रेम गीत', 'ऐश्वर्य', 'म यस्तो गीत गाउँछु' सफल हुनुको कारण गीतसंगीत नै भएको पोखरेलको भनाइ छ ।

चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए। 'काममा बजेटले असर गर्छ । हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ', उनले भने, 'केही निर्माता गीतलाई भिडियोमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठीकठाक गरौँ भन्ने पनि हुनुहुन्छ । उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौँ ।'

संगीतकार शम्भुजित बाँस्कोटा गीतसंगीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउँछन्।

'पहिला चाडपर्वलाई लक्षित गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो । त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्', उनले भने। प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रदर्शन भइरहेको छ । यसको गीतसङ्गीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेको छ ।

घरेलु बजारसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बताए। 'हामी प्रति दर्शकको विश्वास छ । साथै गीतसङ्गीतले समेत सामाजिक सञ्जालमार्फत प्रचारमा सघाएको छ', उनले भने। 

salt training

कमेन्ट गर्नुहोस्