१३ असार २०८३, शनिबार
बीओपीको स्तरोन्नति

सीमा सुरक्षा : ४५ वटा बीओपीलाई गुल्ममा स्तरोन्नति गर्दै सशस्त्र प्रहरी

चैत १६, २०७९
सीमा सुरक्षा : ४५ वटा बीओपीलाई गुल्ममा स्तरोन्नति गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई अझ मजबुत बनाउन ४५ वटा ‘सीमा सुरक्षा गुल्म’ स्थापना गर्ने भएको छ । 

पछिल्लो समय राजस्व चुहावट, चोरी, तस्करीलगायतका समस्या नियन्त्रण गर्न सीमा सुरक्षा गुल्म स्थापना गर्ने प्रस्ताव गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

‘सीमा क्षेत्रमा विभिन्न विषयलाई ध्यान दिएर ४५ ठाउँका आउट बोर्डर पोस्ट (बीओपी)लाई गुल्ममा स्तरोन्नति गर्न लागिएको हो,’ डीएसपी थापाले लोकान्तरसँग भने ।

उनका अनुसार सीमामा हुने चोरी निकासी, लागूऔषध तस्करी, राजस्व चुहावट नियन्त्रण गर्नका लागि भारतीय सीमा नाकाहरूमा सीमा सुरक्षा गुल्म राखिने छ ।

सशस्त्रले देशका बढी भीडभाड हुने र कारोबार धेरै हुने नाकाका बीओपीलाई स्तरोन्नति गर्न लागेको हो ।

गुल्ममा परिणत गरे पनि आर्थिक भार भने नथपिने डीएसपी थापाले दाबी गरे ।

‘पुरानै बीओपीका कर्मचारीहरूलाई व्यवस्थापन गरेर चलाउने भएकाले आर्थिक हिसाबले कुनै भार पर्दैन,’ सहायक प्रवक्ता थापाले भने, ‘अहिले पुरानै भवन र जनशक्तिबाट गुल्म सञ्चालन हुन्छ ।’

एउटा भन्सार सुरक्षा गुल्मले त्यो ठाउँको अवस्था हेरेर २ देखि ७ वटा बीओपीलाई कमान्ड गर्नेछ । गुल्म थप्दा चेन अफ कमान्ड पनि बलियो हुने सशस्त्रले दाबी गरेको छ ।

गुल्म स्थापना भएपछि बीओपीको कमान्डले गुल्मको कमान्डर र त्यसले जिल्लाको कमान्डरलाई बिफ्रिङ गर्नेछन् । अहिले बीओपीको कमान्डरले सिधै जिल्लाको कमान्डरलाई बिफ्रिङ गर्दै आएका छन् । 

अहिले बीओपीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा अवस्था हेरेर ३५ जना कर्मचारीहरू रहँदै आएका छन् । अहिले उत्तर तर्फ ८ वटा बीओपी र दक्षिणतर्फ २२८ वटा बीओपी छन् ।

निवर्तमान आईजीपी शैलेन्द्र खनालले ५२० वटा बीओपी स्थापना गर्ने योजना बनाएका थिए । वर्तमान आईजीपी राजु अर्याल आएपछि बीओपी बढाउने भन्दा पनि भएका बीओपीहरूलाई गुणस्तरीय बनाउने योजना अगाडि सरेको सशस्त्रका एक उच्च अधिकारीले लोकान्तरलाई बताए । 

अहिले पनि सशस्त्रका बीओपीहरू पाल, काठको घर र खुला आकाशमुनि छन् । त्यही बसेर सीमा सुरक्षा गर्नुपर्ने बाध्यता छ । अधिकांश बीओपीले भाडाको घरमा बसेर सुरक्षा दिँदै आएका छन् । 

यसभन्दा अगाडि भन्सार गुल्म, राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म र राजस्व चुहावट नियन्त्रण गुल्म गरी १२ वटा गुल्म थिए । २०७५ सालमा सरकारले त्यसलाई खारेज गरिदिएको थियो । 

कहाँ–कहाँ बस्दैछ भन्सार सुरक्षा गुल्म ?

सशस्त्रले देशभरका ४५ ठाउँका बीओपीलाई गुल्ममा स्तरोन्नति गर्दैछ । इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, घेराबारी र गौरीगञ्ज गरी ४ ठाउँ, मोरङको बरदङ्गा, सोराभाग र रानी गरी ३ ठाउँ, सुनसरीको कप्तानगञ्ज र हरिपुर, सप्तरीको तातो नाका, सिराहाको इनरुवा र माडर, धनुषाको मौनाथपुर र जटहीमा भन्सार गुल्म रहने भएको छ ।

यस्तै, महोत्तरीको जलेश्वर र रघुनाथपुर, सर्लाहीको मलङ्गवा र सिमरा, रौतहटको गौर, बाराको पिपरपाटी, पर्साको वीरगञ्ज, अलउ, लहावर, थकरी भीखमपुर र सुवर्णपुर गरी ५ ठाउँ, चितवनको थर्थरे, पश्चिम नवलपरासीको हरपुर, पूर्व नवलपरासीको डण्डा, रुपन्देहीको सुनौली, कपिलवस्तुको कृष्णनगर र चाकर चौडा, दाङको कोइलाबास, बाँकेको नरैनापुर र जमुनाह, बर्दियाको कन्ठपुर र राजापुरमा पनि गुल्म राखिने भएको हो । 

यसैगरी, कैलालीको खक्रौला, खोनपुर, गुलरियाघाट र त्रिनगर गरी ४ ठाउँमा, कञ्चनपुरको बेलौरी, देवीस्थान र गड्डाचौकी नाका तथा दार्चुलाको गोलजिवीमा बीओपीलाई भन्सार गुल्ममा स्तरोन्नति गरिने भएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्