
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा बुधबार होटल इच्छा सिमरा बारामा सम्पन्न भएको छ।
विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे सभालाई जानकारी गराएका थिए।
सभामा अध्यक्ष अग्रवालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजीसम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आईएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोहीबमोजिम विशेष साधारण सभा बोलाइएको जानकारी गराए।
त्यसैगरी अध्यक्ष अग्रवालले दुवै कम्पनीको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा DDA Report समेतको आधारमा शेयर अनुपात (Swap Ratio) क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिएपश्चात् बन्ने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने र कम्पनी गाभिएपछि हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा सञ्जाललगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरू आपसमा गाभिने निर्णय गरिएको जानकारी गराए।
नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना विशाल ग्रुप र आईएमई ग्रुप साथै संस्थासँग आबद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे।
सोही अवसरमा कम्पनीहरू गाभिएपछि बन्ने कम्पनीको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी ३ अर्ब २ करोड, शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अर्ब हुने जानकारी समेत सभालाई गराए।
त्यसैगरी नियमन निकायबाट निकट भविष्यमा शुरू हुन लागेका जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराए।
संस्था गाभिएपछि पुँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जीवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ ।
गाभिएपछि प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन आपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भई गुणात्मक उपलब्धि हासिल हुनेछ ।
जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पुँजी संरचनाअनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ ।
गाभ्ने/गाभिने (मर्जर) कार्यले आगामी दिनमा शेयरधनीहरू तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढीभन्दा बढी लाभान्वित हुनेबारे सभालाई जानकारी गराएका थिए।
साथै, विशेष साधारण सभामा प्रस्तावित विशेष प्रस्तावहरू विशेष साधारण सभाले सर्वसम्मतिबाट पारित गरेको सभामा जानकारी गराए।
प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरण एवं अन्य नियमन निकायद्वारा जारी निर्देशनहरूको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य र मान्यतालाई मनन गरी गुणस्तरीय सेवा प्रदान गरी नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने व्यहोरासमेत अध्यक्ष अग्रवालले सभालाई जानकारी गराए।
त्यसैगरी अध्यक्ष अग्रवालले यस विशेष अवसरमा दुवै कम्पनीका मर्जर कमिटीका संयोजक, शेयरधनी, नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण नियमकारी, बैँक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी, दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरूलगायत कर्मचारीहरूलाई समेत धन्यवाद ज्ञापन गरे।