
एसइई परीक्षाको चौथो र पाँचौँ दिन मोरङबाट २ सय विद्यार्थी पक्राउ परेका छन् ।
अनिवार्य सामाजिक विषयको परीक्षा हुँदै मोरङका ३ वटा परीक्षा केन्द्रबाट एकै दिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
ग्रामथान केराबारी र हरैचाबाट त्यस्ता १९९ जनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
सार्वजनिक मावि केराबारी १२७, जनता मावि सुन्दरहरैंचाबाट २० जना पक्राउ परेका छन् । सार्वजनिक माविमा २५८ विद्यार्थीमध्ये १ सय २७ जना नक्कली विद्यार्थीले परीक्षा लेखेका थिए ।
यस्तै सरस्वती माविबाट ५२ विद्यार्थी पक्राउ परेका थिए । पक्राउ परेका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
बुधवार ग्रामथानको सरस्वती माध्यमिक विद्यालयबाट एक जना नक्कली विद्यार्थीलाई पक्राउ गरेपछि जिल्ला शिक्षा समन्वय समितिले विद्यार्थीको प्रवेश पत्र चेक गर्ने योजना बनाएको थियो ।
जिल्ला समन्वयमा भएका सक्कली प्रवेश पत्र परीक्षा शुरू हुनुभन्दा अगाडि नै परीक्षा केन्द्रमा पुर्याइएको थियो ।
शिक्षा समन्वय र प्रहरीले विद्यार्थीसँग भएको प्रवेश पत्र र शिक्षा समन्वयबाट लगिएको सक्कली परिचय जुधाएर हेरेका थिए। फोटो फरक परेपछि प्रहरीले जन्म मिति बुबा आमाको नाम सोधेको थियो। नाम फरक परेपछि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रवेश पत्रमा नाम एउटै भए पनि फोटो भने नक्कली विद्यार्थीको राख्ने गरिएको पाइएको थियो ।
यस्तो समस्या खुलामार्फत परीक्षा दिनेको हो। कक्षा ८ पास गरेर विद्यालयको पढाइ छाडेका विद्यार्थीलाई पढ्ने मौका दिएर खुलामार्फत एसईईमा सहभागी गराइन्छ ।
यस्ता विद्यार्थीले परीक्षा फारम भने कन्सल्टेन्सीमार्फत भर्ने गर्छन् । कन्सल्टेन्सी नै नक्कली विद्यार्थी खोजिदिने समेत गरेको खुलेको परीक्षा स्थलमा भेटिएका एक प्रहरी अधिकारीले बताए ।
नक्कली विद्यार्थीलाई सोधपुछ गर्दा कन्सल्टेन्सीले परीक्षा लेख्न पठाएको भनेका छन्। ती अधिकारीले भने एक जना विद्यार्थीबाट ४० हजारसम्म लिएर थोरै पैसा दिएर उनीहरूलाई परीक्षा लेखाउन लगाउने गरेको खुलेको छ ।
मोटो रकम कन्सल्टेन्सीले लिए पनि नक्कली विद्यार्थीलाई भने थोरै मात्रै पैसा दिने गरेको पाइएको हो।
ती प्रहरी अधिकारीका अनुसार दैनिक ४ सय रुपैयाँ दिएर उनीहरूलाई परीक्षा लेखाउन लगाउने गरेको खुलेको छ । ४ देखि ५ हजार रुपैयाँसम्म लिएर परीक्षा लेख्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
नक्कली विद्यार्थीहरू उच्च शिक्षा पढ्नेदेखि कक्षा ८ सम्म पढ्ने रहेका छन् । केही सक्कली विद्यार्थी काठमाडौँमा रहेका खुलेका प्रहरीले जनाएको छ । 'काठमाडौँतिर विभिन्न काम गर्नेहरूको परीक्षा लेखेको देखिन्छ,' एक प्रहरी अधिकृतले भने, 'परीक्षा लेख्न नक्कली विद्यार्थी भने कन्सल्टेन्सीले खोजी गर्ने गरेका रहेछन् ।'
बिहीबार भएको परीक्षामा २ नक्कली विद्यार्थी भने फरार भएका छन् ।
सरस्वती माध्यमिक विद्यालयमा परीक्षा लेखिरहेका २ नक्कली परीक्षार्थी परीक्षा सकिनुअघि नै नै हिँडेका हुन्। परीक्षा शुरू भएको एक घण्टापछि शौचालय जान भन्दै निस्केका विद्यार्थी परीक्षा लेख्न नफर्केपछि उनीहरूको समेत प्रहरीले अनुसन्धान थालेको छ । उनीहरूलाई अगाडि नै सूचना दिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सबै परीक्षा रद्द
आजसम्म ५ वटा विषयमा परीक्षा भएको छ । अनिवार्य विषयका नेपाली, अंग्रेजी, गणित ,विज्ञान र सामाजिक विषयको परीक्षा ती नक्कली विद्यार्थीले लेखिसकेका थिए। उनीहरूले लेखेका सबै विषयको परीक्षा रद्द गरिएको जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले बताए ।
उनले भने, 'अब सक्कली परीक्षार्थीले पनि परीक्षामा सामेल हुन पाउन्न। मोरङमा ७ वटा विद्यालयमा खुला विद्यार्थीका लागि परीक्षा केन्द्र सञ्चालन गरिएको छ । १ हजार ३२ विद्यार्थी सहभागी हुने गरेका छन् ।