०९ असार २०८३, मंगलबार

दरबार हाईस्कुलमा नयाँ भर्नाको आकर्षण

दरबार हाईस्कुलमा नयाँ भर्नाको आकर्षण

ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । 

कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित यस विद्यालयमा नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्ययमा पढाइ हुने हुँदा हरेक दिन नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढिरहेको हो । त्यति मात्रै होइन एसइई सामुदायिक विद्यालयमा पढे उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट सङ्ख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिइन् । 

शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको यस विद्यालमा तलका कक्षमा पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने गरेका छन् । काठमाडौँको मुटुमा रहेको ऐतिहासिक धरोहर यस विद्यालयमा आगामी शैक्षिक सत्रका लागि विद्यालयले यही चैत १७ देखि २८ गतेसम्म नयाँ भर्नाका लागि आह्वान गरेको थियो । 

नयाँ भर्नाका लागि विद्यार्थीको सङ्ख्या बढेपछि स्तरमापन गरेर मात्र भर्ना गर्ने तयारी विद्यालयको छ । उक्त परीक्षाका लागि अनिवार्य पाँच विषय नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिकको (अध्ययनरत) कक्षाको पाठ्क्रममा आधारित रहेर प्रत्येक विषयबाट २०÷२० अङ्क भारसहित जम्मा १०० पूर्णाङ्कको प्रश्न सोधिने पनि प्रधानाध्यापक पौडेलले जानकारी दिइन् ।    

नयाँ भर्नाका लागि आउने विद्यार्थी केही अन्य सामुदायिक विद्यालयबाट नै आएका छन् भने अधिकांश निजी विद्यालयबाट आएका छन् । भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ जना मात्र विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्