
काभ्रेको रोशी गाउँपालिका–९ मंगलटारमा आयोजित २ दिने बृहत् स्वास्थ्य शिविरबाट ५०० स्थानीय लाभान्वित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मंगल जनविजय माध्यमिक विद्यालयले संयुक्त रूपमा शिविर आयोजना गरेका थिए ।
शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिनसँग सम्बन्धित सेवा प्रदान गरिएको थियो । शिविरका संयोजक नवराज अधिकारीले शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा. कोमलराज रिजाल र प्रेम पौडेल, बीपी स्मृति सामुदायिक सहकारी अस्पतालबाट जनरल हेल्थमा डा. सुरेन्द्र बस्नेत, स्त्रीरोग विशेषज्ञ डा. कविता अधिकारी, हाडजोर्नी विशेषज्ञमा डा. नवराज बस्नेत, नाक, कान, घाँटी विशेषज्ञ डा. कृति अधिकारी र डा. प्रवेश घिमिरे, छाला रोग विशेषज्ञ डा. सहज्योति शाहले सेवा प्रदान गरेका थिए ।
विद्यालयका शिक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वास्थ्य शिविरबाट स्थानीयवासी लाभान्वित भएका जानकारी दिए ।