
अस्ट्रेलियामा रहेकी गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा पनि चलचित्रको कथाजस्तै भएको बताएकी छन् ।
आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अगाडि बढ्न खोजे पनि आफ्नो पाइला पछाडि तानिने गरेको उल्लेख गरेकी छिन् ।
कुनै घटना वा कथावस्तुको वास्तविकता अर्कै हुने गरेको तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइने गरेको उनको गुनासो छ ।
‘अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको वर्षात हुन्छ त कसैलाई तालीको’ उनले लेखेकी छिन् ‘चलचित्रको कथा जस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु मेरा पाइला पछाडि तानिन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु ।’
उनले आफ्नो पनि आँसु झर्दा दुख्ने, पोल्ने आम मानिसको जस्तै मन भएको बताएकी छिन् । आफू गलत र चरित्रहीन छोरी नभएको समीक्षाले लेखेकी छिन् ।
‘मेरो पनि भावना छ तपाईको जस्तै । मेरो पनि मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थहिन हुन जस्तो’ उनी लेख्छिन् ‘म गलत छैन, म कुनै चरित्रहीन छोरी होइन । मेरो पनि परिवार छ तपाईको जस्तै । पर्दामा देखिएका हरेक कुरा सहि हुँदैनन्। सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’
उनको स्टाटसमाथि दुई हजार बढीले प्रतिक्रिया दिएका छन् ।