
राष्ट्रपति रामचन्द्र पौडेलले १० वैशाखमा ३ क्षेत्रमा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद्काे सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपतिले स्वीकृति दिएका हुन् ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०५० साल वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/१२/२८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/१२/२८ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७९/१२/३० को पत्रको आधारमा सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१० वैशाखमा बारा २, तनहुँ १ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।
