
जाजरकोट र रुकुमपश्चिम जोडेने भेरी नदीमाथी बन्दै गरेको पुल बेलिब्रिज भाँचिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ३ जना हराइरहेका छन् । भने दुर्घटनामा परी ९ जना घाइते भएका छन् । भेरी नदीमाथि बन्दै गरेको बेलिब्रिज भाँचिएको हो ।
जाजरकोटको नलगाड नगरपालिकामा पर्ने तल्लुबगर र रुकुम पश्चिमको गोतामकोट जोड्ने पुल भाँचिएर दुर्घटना भएको हो । जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहले डोजरको सहायताले बेलिब्रिज जोड्ने क्रममा दुर्घटना भएको जानकारी दिइन् ।
कमजोर निर्माण सामग्री वा लापरवाहीले नभई जोड्न खोज्दा भाँचिएको दाबी उनको छ ।
‘बन्दै गरेको बेलिब्रिज पुल भत्किएको हो, त्यसमा ९ जना घाइते भएका छन । केहीको अवस्था नाजुक छ’ उपप्रमुख सिंहले लोकान्तरसँग भनिन् ।
घाइतेलाई नलगाड नगरपालिकामा रहेको स्वास्थ्य संस्थामा ल्याइएको र घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि पठाउने तयारी रहेको उनले बताइन ।
प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए ।