![आमाको समस्याले बनायो प्रशंसालाई थेरापिस्ट [भिडियो स्टोरी]](https://lktcdn2.prixacdn.net/media/Prasamsa_Pradhan_aycU25Sb9O.png)
‘नशा च्यापिने र हड्डी खिइने समस्याले मेरो मामु (आमा) थला पर्नुभयो । धेरै अस्पताल र डाक्टरलाई देखाइयो तर समस्या समाधान भएन, मामु झन्–झन् खिइँदै जानुभयो,’ ललितपुरकी प्रशंसा प्रधानले आमा बिरामी हुँदाको शुरूआती दिन सम्झिइन् ।
सन् २०१० मा परिवारसहित सानेपामा बस्दा प्रशंसा ‘प्लस टु’ पढिरहेकी थिइन् । आमालाई देखिएको यो समस्याले परिवार अत्तालिसकेको थियो ।
परिवारले उनलाई धेरै अस्पताल लग्यो । महिनौं अस्पताल चहार्दा पनि समस्या पार लागेन । अस्पताल र औषधिले निको नभएपछि आफन्तले फिजिरोथेरापी गर्न सुझाएको उनी सम्झिन्छिन् ।
यही सल्लाह बमोजिम फिजियोथेरापीमा लैजाने सहमति परिवार जुट्यो । आमासँगको सामिप्यताको हिसाबले पनि छोरी प्रशंसाकै काँधमा आमालाई थेरापीमा सहयोग गर्ने जिम्मेवारी आइलाग्यो । आमालाई फिजियोथेरापीमा लैजाँदा–लैजाँदै उनी आफैंले यसप्रति चासो देखाउन थालिन् ।

परिवारमै परेको समस्या र आफैं आमासँग निकट हुँदाहुँदै उनको मनमा फिजियोथेरापिस्ट बन्ने सपना पलायो ।
‘मामु जस्तो धेरै गृहणीहरू रहेछन्, जो उहाँ जस्तै समस्याले पीडित रहेछन् । यो त हरेक घरको गृहणीलाई हुने समस्या रहेछ,’ शुरूआती दिन सम्झिँदै उनी भन्छिन्, ‘यसले गर्दा मलाई यो क्षेत्रमा धेरै स्कोप छ जस्तो लाग्यो अनि यसैलाई करिअरको रूपमा अँगाल्ने सोचें ।’
करीब १ महिनाको थेरापीपश्चात उनकी आमालाई ठीक भयो, हिँड्डुल गर्न सक्ने भइन् । नजिकैबाट आमाको समस्या र समाधानको सूत्र उनले सिक्न पाइन् । त्यसैले यो पेशा अँगाल्न उनलाई थप प्रेरणा जाग्यो । विषयगत अध्ययनमै होमिने निर्णयमा पुगिन् उनी ।
‘त्यसपछि थप अध्ययनका लागि सन् २०११ मा भारतको बैंगलोर लागें, करीब ७ वर्षको अध्ययनपश्चात २०१७ मा फिजियोथेरापीको डिग्री हासिल गरेर नेपाल फर्किएँ,’ उनले लोकान्तरसँग सुनाइन् ।

अध्ययन सकेर नेपाल फर्केकी उनले शुरूमा अनलाइनबाट फिजियोथेरापी शुरू गरिन् । अनलाइन फिजियोथेरापी शुरू गरेको करीब ३ वर्षपश्चात भने उनले आफ्नै अफिस खोलेरै फिजिकल सेटअप सहितको सेवा दिन थालिन् । झम्सिखेलस्थित ब्रिटिश स्कूल अगाडि उनको फिट फिजियोको थेरापी अफिस रहेको छ ।
परिवारको भोगाइ, आफ्नो पढाइपछि काम गराइबाट उनी अब विज्ञ बन्दैछिन् । शरीरलाई सवारीसाधनसँग तुलना गर्दै उनी भन्छिन्, ‘हामीले कुनै सवारीसाधन किनेपश्चात त्यस साधनलाई समय–समयमा सर्भिसिङ गर्नु परे जस्तै हाम्रो शरीरको पनि केयर गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘त्यसलाई फिजियोथेरापीले सहयोग गर्छ ।’
फिजियोथेरापी कुनै उमेर समूह लक्षित छैन । बच्चादेखि युवा र वृद्धवृद्धासम्म सबैलाई यसको आवश्यकता पर्ने उनी बताउँछिन् । विभिन्न उमेर समूहका व्यक्तिअनुसार फिजियोथेरापी प्रक्रिया फरक हुने उनी बताउँछिन् ।

अर्थो, न्यूरो, कार्डियो सम्बन्धी समस्या र खेलाडीलाई फिजियोथेरापी लाभदायक र आवश्यक हुने उनी बताउँछिन् । सुगर, थाइराइड, प्रेसरजस्ता रोगमा पनि फिजियोथेरापीले औषधिको मात्रा घटाउन सहयोग मात्रै गर्दैन, नियन्त्रण गर्न मद्दत पुग्ने उनले बताइन् । ‘औषधि नै प्रयोग गर्नुपर्दैन भनेर म भन्दिनँ तर नियमित तवरले फिजियोथेरापी गरेमा औषधिको मात्रा घटाउन भने सहयोग पुग्छ,’ उनले भनिन् ।
नयाँ बिरामीलाई कम्तीमा पनि १ हप्ताको थेरापी सेसन लिन उनी सुझाउँछिन् । ‘मात्र ३ सेसनको थेरापीपछि नै बिरामीको दुखाइ कम हुँदै जान्छ तर दुखाइ कम भयो भन्दैमा बीचमै थेरापी छाडेर जानु हुँदैन,’ उनले भनिन् ।
‘फिजियोथेरापीमा पनि फलोअप गर्दै जानुभयो भने धेरै राम्रो हुँदै जान्छ, दुखाइ कम हुनासाथ छाड्नु हुँदैन,’ उनी भन्छिन्, ‘बरु थप यसले दुःख नदियोस् वा फेरि नबल्झियोस् भन्नका लागि थेरापिस्टसँग सल्लाह गरेर अगाडि बढ्दा बिरामीलाई राम्रो हुन्छ ।’

यस क्रममा उनीसँग हिँड्डुल गर्न नसक्ने बिरामीलाई निको बनाएको अनुभव पनि छ । ‘उहाँ बेडबाट उठ्नै नसक्ने हुनुहुन्थ्यो, म उहाँको घरमै गएर थेरापी गराउँथे, अहिले उहाँ आफैं मेरो अफिसमा हिँडेर थेरापी गर्न आउनुहुन्छ,’ उनले भनिन् । यस्तो देख्दा आफूलाई थप काम गर्ने उर्जा मिलेको उनी बताउँछिन् ।