२० असार २०८३, शनिबार

कसरी भयो मुख्यमन्त्रीकै पकेटमारी ?

बैशाख १७, २०८०
कसरी भयो मुख्यमन्त्रीकै पकेटमारी ?

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको १ लाख रूपैयाँ पकेटमारी भएको खुलेको छ ।

गत बिहीवार बाराको बैरिया गाउँमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको विजयोत्सव मनाउने क्रममा उनको कुर्ताको गोजीबाट १ लाख रुपैयाँ नगद पकेटमारले लगेको खुलेको हो ।

मिटर ब्याज सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव विनोद सिंह, नेपाल प्रहरीका प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी रहेको एक कार्यक्रममा मुख्यमन्त्री यादवले आफू नै पकेटमारबाट पीडित रहेको बताएपछि सबै जिल्ल परेका थिए ।

‘अस्ति बिहीवार नै उपेन्द्रजीको विजयोत्सवमा सहभागी हुँदा मेरो कुर्ताको गोजीबाट पकेटमारले पैसा लगेको रहेछ । मैले १ लाख रुपैयाँ नगद बोकेको थिएँ, पकेटमारले कुर्ताको गोजीबाट १ लाख रूपैयाँ नगद चोर्‍यो । मैले पछि मात्र थाहा पाएँ,’ कार्यक्रमपछि मुख्यमन्त्री यादवले लोकान्तर सँग भने ।

२ वर्षअगाडि सभामुख हुँदा पनि आफ्नो गोजीबाट ५० हजार रूपैयाँ पकेटमारी भएको उनले खुलाए ।

‘म सभामुख हुँदै गर्दा मेरो क्षेत्रको रानीवासस्थित दुईजना पकेटमारले गोजीबाट ५० हजार रुपैयाँ पकेटमारी गरेका थिए,’ उनले थपे,’ त्यसपछि मेरा कार्यकर्ताहरूले ती दुवैजनलाई लखेटेर समातेपछि प्रहरी चौकीमा बुझाएका थियौं ।’

तर, ती दुवै पकेटमार प्रहरी हिरासतबाट फरार भएको उनले बताए । पछि रौतहटको गौरमा पकेटमारी गरिरहेको अवस्थामा प्रहरीले ती दुवै जनालाई पक्राउ गरेको मुख्यमन्त्री यादवले बताए ।

मुख्यमन्त्रीकै रकम पकेटमारले चोर्न सफल हुँदा सर्वसाधारण नागरिकको अवस्था के होला उनको प्रश्न छ ।

salt training

कमेन्ट गर्नुहोस्