
काठमाडौं, १८ भदौ — उत्तर कोरियाले आइतवार गरेको हाइड्रोजन बम परीक्षणले वरिपरिका क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प नै ल्याएको छ ।

यसबाटै पनि उत्तरको यो बम निकै शक्तिशाली हुनुपर्ने विज्ञहरूले अनुमान लगाएका छन् ।
त्यसो त उत्तर कोरिया आफैंले हाइड्रोजन बम भयंकर विनाशक शक्तिशाली भएको र यसलाई घरैमा उत्पादन गरिएको बतायो । सयौं किलोटन क्षमताको यो बम अत्यन्त उचाइँमा विस्फोट हुँदा पनि शत्रुमाथि अकल्पनीय क्षति पुग्न सक्ने उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनायो ।
उत्तरका दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएपनि किमले कालो लुगा लगाएर बमको निरीक्षण गरेको तस्वीरमा खतरनाक बमको टुप्पो देखिएको थियो ।
त्यो बमलाई क्षेप्यास्त्रमा सजिलै फिट गर्न सकिने विज्ञहरू बताउँछन् ।
प्योङयाङले गत जुलाई महिनामा अन्तर्महादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरिसकेको छ । विज्ञहरूका अनुसार त्यस क्षेप्यास्त्रले अमेरिकाको शिकागो र लस एज्नेलसलाई लक्षित बनाउन सक्छ ।
तर उक्त क्षेप्यास्त्रमा आणविक बम राख्दा त्यो वातावरणीय तहमा पनि प्रभावकारी हुन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ प्रश्नकै घेरामा छ ।
एजेन्सी