२२ असार २०८३, सोमबार

चलचित्र प्राविधिकका लागि नयाँ नियम ल्याउँदै नेफ्टा

बैशाख १८, २०८०
चलचित्र प्राविधिकका लागि नयाँ नियम ल्याउँदै नेफ्टा

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) प्राविधिकलाई लक्षित गर्दै सिफ्ट प्रणालीको कार्यान्वयनमा जुटेको छ ।

वैशाख १ गतेदेखि नयाँ नियम ल्याइए पनि लागू गर्ने विषयमा छलफल भइरहेको नेफ्टाका अध्यक्ष पुस्कर लामाले बताए ।

नेफ्टाले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न प्रयास गरिरहेको उनले जानकारी दिए । ‘हामीले विदेशमा लागू गरिएको ८ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि १२ घण्टाको बनाएका छौं । जिम्मेवार श्रमिक संस्था भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ,’ उनले भने । 

सरोकारवाला संस्थाहरू नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजसँग सहकार्य गरेर यसलाई पूर्ण कार्यान्वयनमा ल्याउने तयारीमा रहेको नेफ्टाले बनाएको सिफ्टअनुसार नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नेछन् । अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । 

अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास शुरू गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको भन्दै अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याइएको बताए । ‘कार्यान्वयनका लागि सम्बन्धित संस्थासँग सहकार्य र छलफल गरिरहेका छौं,’ अध्यक्ष लामाले भने । नेपालमा छायांकन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्यका साथै आउने विदेशी चलचित्रमा अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियम समेत नयाँ प्रावधानमा उल्लेख छ ।

नेफ्टा अध्यक्ष लामाले सिफ्ट प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन केही समय लाग्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्