
म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ ।
बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाका अनुसार आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको हो । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ ।
अस्पतालको निर्माणाधीन भवनको भुई तलामा छुट्टै कोठामा फिजियोथेरापी कक्ष स्थापना भएको छ । चार शय्या राखिएको छ । अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण खरिद गरिएको थियो । फिजियोथेरापीका उपकरण खरिद गर्न प्रदेश सरकारले रु आठ लाख बजेट विनियोजन गरेको थियो ।