
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बहालवाला सचिव टेकनारायण पाण्डेले जिल्ला सरकारी वकिल कार्यालयमा इन्कारी बयान दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनीसँग लिइएको बयानमा ‘होइन’ भन्दै उनले इन्कारी बयान गरेका छन् ।
एक सरकारी वकिलका अनुसार हालसम्म झण्डै ४५ वटा प्रश्नहरू सोधिएकोमा सबै आरोपहरूमा उनले इन्कारी बयान दिएका हुन् । ‘मैले नक्कली मानिसलाई भुटानी शरणार्थी बनाएर पठाउन कुनै पनि काम गरेको छैन’ भन्दै पाण्डेले सबैमा इन्कारी बयान दिएको उनले बताए ।
पहिले पक्राउ परेका प्रतिवादीहरूसँग फेला परेका डायरीहरूमा पाण्डेको नामसहित लेनदेन गरिएको संकेत फेला परेपछि पाण्डेलाई पक्राउ गरिएको ती सरकारी वकिलले खुलाए । ‘डायरीमा विभिन्न संकेतहरू देखिएपछि नै पाण्डेलाई पक्राउ गरिएको हो,’ ती सरकारी वकिलले लोकान्तरसँग भने, ‘अहिले उहाँले बयानका क्रममा इन्कार गरेको भए तापनि हामीले प्राप्त सबै प्रमाण तथा आधारहरूको विश्लेषण गरिरहेका छौं ।’
२३ करोड रुपैयाँजति बिगो राखिएकोमध्ये उनको उत्तरदायित्व कति हुन्छ भन्ने विषयको पनि अनुसन्धान जारी नै रहेको उनले बताए । ‘अनुसन्धानको क्रम जारी नै रहेकाले बयानका धेरैजसो कुराहरू अहिले बाहिर एक्स्पोज गर्न मिल्दैन,’ उनले थपे, ‘केही दिनभित्र अनुसन्धान पूरा भएपछि मात्र भन्न सकिन्छ ।’
त्यसबाहेक सचिव पाण्डेको मोबाइलबाट बिचौलियासँग ह्वाट्सअपबाट च्याट भएको तथा मोबाइलबाट एसएमएसमार्फत समेत कुराकानी भएको देखिएको छ । प्रहरीले ती सबै प्रमाणको पनि सुक्ष्म विश्लेषण गरी अनुसन्धान गरिरहेको ती सरकारी वकिलले बताए ।
गृहसचिव भएको बेला नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहजीकरण गरिदिएको तथा त्यसबापत बिचौलियाहरूबाट रकम लिएको अभियोगमा पाण्डे पक्राउ परेका हुन् ।
उनलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले सचिवको रूपमा गृह मन्त्रालयमा ल्याएका थिए ।
सचिव पाण्डेले इन्कारी बयान दिए पनि प्रहरीले प्रमाणका आधारमा अनुसन्धान जारी राखेको छ ।