
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ ।
आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैंले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो ।
भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उपचार केन्द्रको सोमवार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनले भने, ‘हामी बरु भत्ता नलिउँला तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौं । हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नि !’
चुमानले गाउँपालिका आफैंले अस्पताल सञ्चालन गर्दै आएको र अस्पतालबाट सिफारिस गरेर बिरामी लैजानपरे एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने गरिएको बताए । उनले भने, ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छाैं, आवश्यक परे विकास बजेट घटाएर पनि स्वास्थ्यमा लगानी गरिनेछ ।’
चुमानले आँखाको उपचारका लागि आँबुखैरेनीका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका बासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा अब आँबुखैरेनीमै उपचार केन्द्र स्थापनापछि सबैलाई सहज हुने बताए । भरतपुर आँखा अस्पतालसँगको सम्झौताअनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक २ कोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । आँखा उपचार केन्द्र स्थापनाका लागि चालू आर्थिक वर्षदेखि निरन्तर वार्षिकरूपमा ५ वर्षसम्म ६ लाख रुपैयाँका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिनेछ ।
आँखा उपचार केन्द्रका लागि १ जना सहायकस्तरको कर्मचारी राखिएको छ । आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पताल चितवनको सहकार्यमा ओपिडी टिकट र आँखा उपचार केन्द्रमा टाँसिने ब्यानरमा नेपाल सरकारका लोगो राख्न स्वीकृति दिने सम्झौता भएको छ ।
आँखा उपचार केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक पर्ने औजार, उपकरण, औषधि, चश्मा, लेन्स तथा स्टेसनरी उपलब्ध गराउनेछ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति संघको नियमअनुसार उपलब्ध गराउने सहमति भएको छ ।