![EXCLUSIVE : शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध २६ करोड बिगो, मुख्य राजनीतिक बिचौलिया बेचन झा [चेकसहित]](https://lktcdn2.prixacdn.net/media/bhutanes_DGRzKcPAvS.png)
नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
नेपाल प्रहरीले पक्राउ परिसकेका र पर्न बाँकी गरी ३३ जनाविरुद्ध २६ करोड बिगो कायम हुनुपर्ने मागदाबीसहितको प्रतिवेदन तयार पारेको हो ।
आरोपीहरूलाई संगठित ठगीका अलावा राज्यविरुद्धको कसूर र लिखत कीर्तेमा पनि मुद्दा चलाउन प्रस्ताव गरिएको छ ।
यस प्रकरणमा प्रहरीले अर्को नयाँ तथ्य पनि फेला पारेको छ । शीर्षस्थ नेतासम्म राजनीतिक सेटिङ मिलाउने काम बेचन झा नाम गरेका व्यक्तिले गरेको पाइएको छ ।
उनको नाममा काटिएको २ करोडको चेक समेत प्रहरीले बरामद गरेको छ ।

अधिकांश समय भारतमा बस्दै आएका झा अहिले फरार छन् । उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
'उनको ठेगाना समेत यकिन भएको छैन । कांग्रेस-एमालेका उच्च नेतासँग सेटिङ मिलाउने काम उनैले गरेको देखिन्छ,' प्रहरी स्रोतले भन्यो ।
बेचन झा प्रहरीले प्रतिवादी बनाउन सरकारी वकिललाई सिफारिश गरेका नयाँ नाम हो । उनको बारेमा यसअघि कुनै पनि विवरण सार्वजनिक भएको थिएन ।
यस प्रकरणमा नाम जोडिएका तर, प्रमाण नपुगेकाहरूलाई पछि प्रमाण पाउँदा पूरक अभियोग दर्ता गर्न सकिने रायसहित प्रतिवेदन बुझाउन लागिएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा प्रहरीले दुई पूर्वमन्त्रीसहित १६ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । प्रहरीका अनुसार अन्य १७ जना फरार छन् ।
हिरासतमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ तथा दलालहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, कुमार गुरुङ, रामशरण केसी, गोविन्द चौधरी र बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रहरीको राय छ ।
यसका अलावा पक्राउ नपरेका तर पीडितहरूसँग उठाएको पैसा उठाएको प्रमाण भेटिएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ ।
बादलका छोरा प्रतीक थापा, बादल गृहमन्त्री छँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज राई अहिले फरार छन् । उनीहरूलाई पनि प्रतिवादी बनाउने तयारी भएको छ ।