१३ असार २०८३, शनिबार

सीटीईभीटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

सीटीईभीटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । 

परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि ७ वटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धांकपत्र र माइग्रेसन वितरण गर्ने जानकारी दिए । अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धांक पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ । ७ वटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौं आउनुपर्ने झन्झट नहुने भएको छ । 

उनका अनुसार ७ वटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धांक पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदैछ ।

परिषद्ले कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट वितरण गर्नेछ । ट्रान्सक्रिप्ट, लब्धांक पत्र र माइग्रेसनका लागि विद्यार्थीले अनलाइन फाराम भर्ने र फाराम भरिसकेपछि विद्यार्थीको मोबाइलमा जानकारी आउनेछ । सोही जानकारी आधारमा विद्यार्थीले आफ्नो कागजात लिन सकिने उनले बताए ।

परिषद्ले परीक्षा फाराम पनि अनलाइन गर्ने भएको छ । परिषद्ले प्री डिप्लोमा तथा डिप्लोमा कक्षा सञ्चालन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्