जेठ १६, २०८०
चौतर्फी आलोचनाका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषलाई ब्युँताएर प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ५ करोड बजेट छुट्याए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाक...
नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरैको थियो, किनकि पार्टी राजनीतिमा विकृति/विसंगति भित्र्याउनुमा यिनै पुराना नेता भागीदार रहेको कतैबाट छिप्ने विषय होइन ।
यही सिन्डिकेटविरुद्ध दुई युवा नेताले पार्टीलाई नवजीवन दिनसक्ने विश्वास र भरोसा धेरैले देखेका थिए । कांग्रेसमात्रै होइन, बाहिरी राजनीतिक वृत्तले पनि आशा गरेका दुई अनुहार हुन्, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ।
नेविसंघबाट यी दुई नेता कांग्रेसको राजनीतिमा शिफ्ट हुँदा राजनीतिक वृत्त नै तरंगित थियो किनकि यी दुईको भाषण सुन्न कांग्रेस मात्र होइन, विपक्षी दलका कार्यकर्ता पनि लालायित हुन्थे । कार्यक्रममा कांग्रेसका अरू नेताले गाली खाँदा यिनीहरूले ताली पाउँथे । मासलाई आशा र भरोसा दिलाउने गरी उत्साहपूर्ण भाषण गर्नु यी दुवैको विशेष कला हो ।
पार्टीका बेथितिविरुद्ध आगो ओकल्ने भाषण सुन्न कार्यकर्ताहरूले घण्टौंसम्म पनि कुर्ने अवस्था थियो । अवसर पाएको दिन यिनै नेतामार्फत पार्टीले नवजीवन प्राप्त गर्ने धेरैको विश्वास थियो ।
तर, नेविसंघ हुँदै पार्टी राजनीति शुरू गर्दाको जस्तो तेज र उत्साह जगाउन यी दुवै शक्तिशाली नेता चुक्न थालेका छन् ।
गगन र विश्वप्रकाश २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट शक्तिशाली महामन्त्री पदमा निर्वाचित भए । तर, आशालाग्दा नेताले शक्तिशाली पदमा निर्वाचित भएको १७ महिना यत्तिकै खेर फालेका छन् । अर्थात्, ठूलो पार्टीका शक्तिशाली र आशाको नजरले हेरिएका युवा नेता आन्तरिक राजनीतिमा भने नराम्ररी गुमनाम जस्तो बनेका छन् ।
पार्टी विधानको धारा २७ को १ देखि १२ सम्म महामन्त्रीका लागि काम र कर्तव्य तोकिएको छ । तर विधानले तोकेका काममा महामन्त्रीद्वयले सिन्कोसमेत भाँच्न सकेका छैनन् ।
उनीहरूलाई विधानले केन्द्रीय कार्यालय सञ्चालन, महाधिवेशन, महासमिति, केन्द्रीय समिति र अन्य समितिका निर्णयलाई कार्यान्वयन गराउने अधिकार दिएको छ ।
दैनिक कार्य सञ्चालनका लागि सभापतिलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण विषयमा सभापतिलाई जानकारी र सुझाव दिने तथा पार्टीका संरचना क्रियाशील बनाउनेजस्ता मुख्य अधिकार महामन्त्रीद्वयलाई छ ।
निर्वाचित भएको १७ महिनामा शक्तिशाली र प्रभावशाली महामन्त्रीद्वयले पार्टीलाई एउटा प्रणालीमा हिँडाउन काम गर्नुपर्ने हो । डेढ वर्षमा आफूले गरेका कामको फेहरिस्त सुनाउनुपर्ने हो । तर विडम्बना दुवै महामन्त्री १७ महिनासम्म पनि हामीले काम गर्न पाएनौं भन्दै सामाजिक सञ्जालमा लेखेर बसेका छन् ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल ‘पपुलिस्ट’ हुन खोज्ने महामन्त्रीद्वयले यसबीचमा आफ्नो अयोग्यता प्रदर्शन गरेको टिप्पणी गरे ।
‘दिनदिनै पार्टी कर्यालयमा गएर कुन जिल्लामा कहाँ के भएको छ ? सदस्यता अनुगमन कति भयो ? केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षण भएको छ कि छैन ? कहाँ कुन सदस्यले पार्टी छाडे ? यस्ता कुराको रेकर्ड लिने र पार्टीलाई चलायमान बनाउने काम गर्नुपर्ने हो,’ दाहाल भन्छन्, ‘पार्टीको जीवनसँग जोडिएका विषय र साहित्य निर्माणमा उहाँहरूले के गर्नुभयो ? पार्टीमा लाइब्रेरी सिस्टम बनाउनुभयो ? पार्टी च्यानलमा कार्यक्रम बनाउन सभापतिले रोक्नुभएको हो ? सचिवालयले तल्लो तहसम्म कसरी समन्वय गरेर काम गरेको छ ? यस्तोमा केही नगर्ने अनि पार्टीले दिएन भन्नु अयोग्यता प्रदर्शन मात्रै हो ।’
पार्टी संरचना ध्वस्त हुँदा विधानले नचिनेको पदाधिकारी बैठकमा गुनासो राख्नुपर्ने र सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्नुपर्ने विवशतामा महामन्त्रीद्वय रुमल्लिएका छन् ।
वैशाख २२ गते धुम्बाराहीको पदाधिकारी बैठकमा महामन्त्री थापाले सभापति देउवालाई चेतावनी दिएका थिए । सभापति देउवाले आफूहरूको अस्तित्व नस्वीकारेको, नेतृत्वको गलत कामको भारी बोक्नुपरेको, पार्टी संरचना अस्तव्यस्त बनाएको भन्दै उनले ‘अब नसहने’ चेतावनी दिए ।
महामन्त्री शर्माले सोही बैठकमा पदबाट राजीनामा दिने चेतावनी नै दिएका थिए । सभापतिले काम गर्ने वातावरण नदिएको उनको गुनासो थियो । लगत्तै २४ वैशाखमा गगनले सामाजिक सञ्जालबाटै आक्रोश पोखे ।
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेकपटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ गगनले भने, ‘त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो !’
विधानले महामन्त्रीद्वयलाई पार्टी कार्यालय व्यवस्थापनको जिम्मा दिएको छ । तर, दुवैले आफ्नो असन्तुष्टि पार्टी कार्यालयमा होइन सभापतिको निजी निवासमा राख्नुपर्यो । त्यस्तै विधानले महामन्त्रीलाई सभापतिलाई सहयोग गर्ने, सुझाव दिने, पार्टी संरचनालाई कामकाजी गराउने अधिकारी दिएको छ । तर, पनि विधानले नचिनेको पदाधिकारी बैठकमा नेताद्वय आफ्नो विवशता राख्न बाध्य भएका छन् ।
शर्माको राजीनामा दिन्छु भन्ने र थापाको अब सहन्नँ भन्ने चेतावनी पनि १७ वैशाखको मन्त्रिपरिषद् विस्तारपछि आएको हो । आफूहरूले भनेका नेतालाई मन्त्री नबनाएपछि दुवै महामन्त्री थप आक्रोशित हुन पुगेको उनीहरूका टिप्पणी देखाउँछन् ।
विधानले नचिनेको बैठक नबसौं, पार्टीका नियमित बैठक राखेर अघि बढौं भन्नेमा पनि महामन्त्री देखिएका छैनन् । बरु उनीहरूले चेतावनी दिएको भोलिपल्टै बोलाएर देउवाले दुवैलाई थामथुम पारेका छन् । देउवाले भेटेयता दुवैको चर्को स्वर सुनिएको छैन । सभापति देउवाले डा. शेखर कोइरालासँग सहमति गरेर मन्त्री चयन गरेपछि थापा आफ्नो समूहमा पनि बिच्चिएका छन् ।
१४औं महाधिवेशनमा शेखरको टीमबाट विजयी भए पनि अहिले यो समूहसँग उनको सौहाद्र सम्बन्ध नभएको बताइन्छ । अर्का महामन्त्री शर्माले भने ठूलो गुटबाट नभई सहानुभूतिका आधारमा महामन्त्री जितेका थिए ।
महामन्त्रीमा निर्वाचित भएकै दिन शर्माले गगनसँग हल बाँधेर काम गर्ने बताएका थिए । ‘गगन थापा र म हल बाँधेर काम गर्छौं । म थप जिम्मेवारीले गौरवान्वित र गम्भीर भएको छु,’ १४ औं महाधिवेशनमा निर्वाचित भएपछि शर्माले २०७८ पुस १ गते भनेका थिए ।
तर, गगन र विश्वप्रकाशको 'हल जोडी' सामाजिक सञ्जाल र विधानले नचिनेका पार्टी जमघटमा फाट्टफुट्ट नाक बझाउनेमा मात्र सीमित भएको छ । पार्टी प्रणाली र संरचना सुधारका लागि संयुक्त वा एकल प्रस्ताव ल्याएर पार्टीमा दबाब बढाउने भूमिका पनि देखिएको छैन ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल महामन्त्रीद्वयले आवश्यक हस्तक्षेप बढाउन नसक्दा आफैं निरीह हुनुपरेको बताउँछन् ।
‘कांग्रेसको पार्टी प्रणालीमा केन्द्रीय समितिको बैठक बोलाउन सभापति निर्णायकजस्तो देखिनुहुन्छ । तर, त्योबाहेक केन्द्रीयदेखि देशभरका कार्यालयलाई व्यवस्थित गर्ने र पार्टीका निर्णय कार्यान्वयन गराउने मुख्य जिम्मेवारी महामन्त्रीको हुन्छ, यसमा उहाँहरू चुक्नुभएको छ,’ दाहाल भन्छन्, ‘महामन्त्रीहरू नाच्न जानिरहनुभएको छैन, तर आँगनलाई टेढो देखिरहनुभएको छ । सभापतिसँग यो प्रस्ताव राख्यौं, विभाग गठनको प्रस्ताव राख्दा सभापतिले यस्तो भन्नुभयो, भ्रातृ संस्था चलायमान बनाउन दिनुभएन, आन्तरिक संरचना बनाउन सभापतिले रोक्नुभयो भनेर महामन्त्रीले कहिले भनेका छन् ?’
बरु देउवाको जस्तै गरी गुट निर्माण गर्न सकिन्छ भनेर महामन्त्रीद्वय लागेको उनको आरोप छ ।
‘अफिसियल काम गर्न पनि उहाँहरूलाई जाँगर चलेको छैन, अनि गफ मात्रै ठूला गर्नुहुन्छ । कांग्रेसको गुटलाई अन्त्य गर्न होइन, कसरी गुट बनाउने र गुट कब्जा गर्ने भन्नेतिर उहाँहरू लाग्नुभएको छ,’ दाहाल भन्छन्, ‘देउवाको जस्तो गुट बनाएर पार्टी कब्जा गर्ने सोच उहाँहरूमा छ । तर, पार्टीमा विद्रोह भन्दै अमूर्त कुरा गरिरहनुभएको छ । यो विद्रोह भनेको पार्टी खोल्ने हो कि, छोड्ने हो ? के हो ? यस्तो अमूर्त कुराले जिम्मेवार महामन्त्रीको दायित्व पूरा हुँदैन ।’
मुद्दा भएर पनि मुद्दाविहीन छन् थापा र शर्मा
विधानले प्रत्येक २ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने व्यवस्था गरेको छ । तर, डेढ वर्षमा १४ वटा बैठक मात्रै बैठक बसेका छन् । कम्तीमा ३४ बैठक बस्नुपर्नेमा १४ वटा मात्रै बसेका हुन् । यी बैठकको संख्या पनि नीतिगत र संरचनागत छलफलभन्दा प्रक्रियाका धेरै छन् ।
पछिल्लो १० महिनायता केन्द्रीय समितिको बैठक समेत बस्न सकेको छैन । यसअघि तीनपटकसम्म स्थगित भएको बैठक कहिले बस्छ भनेर टुंगो छैन । केन्द्रीय कमिटी बैठककै निर्णय कार्यान्वयन गराउनुपर्ने महामन्त्रीद्वय अवाक छन् ।
६ महिनाभित्र पूरा हुनुपर्ने केन्द्रीय सदस्यको मनोनयन सकिएको छैन । कोषाध्यक्ष खाली छन् । विभाग गठन भएकै छैनन् । भ्रातृ संस्था वर्षौंदेखि बेहाल छन् । महंगी, मूल्यवृद्धि मात्रै होइन आर्थिक विकास र जनजीविकाका थुप्रै सवालसमेत छन् । तर, उनीहरूले मुद्दामा केन्द्रित भएर सुधारको रचनात्मक प्रस्तावसम्म ल्याएका छैनन् ।
गगन र विश्वप्रकाश मात्रै होइन, कांग्रेस पदाधिकारीमा थुप्रै युवा अटाएका छन् । जीवन परियार, बद्री पाण्डेजस्ता नेता पनि यही समूहबाट पदाधिकारीमा छिरेका हुन् । तर, युवा नेताहरू पदाधिकारी बन्दा पनि पार्टी सुधारको आशा नदेखेपछि अर्को युवा समूह पार्टी रुपान्तरणको अभियानमा निस्किएको छ ।
यो अभियानमा युवा नेता गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्णजस्ता दर्जनौं नेताहरू जोडिएका छन् । गगनहरूले सामाजिक सञ्जालमा विद्रोहको कुरा गरिरहँदा यी युवा नेताले भने सातवटै प्रदेशमा रूपान्तरणको कार्यक्रम घोषणा गरिसकेका छन् ।
यो अभियानका भुपेन्द्रजंग शाही युवामा आशा र उत्साह जगाएका महामन्त्रीले सभापतिले काम गर्न दिनुभएन भनेर बस्न नहुने बताए ।
‘महामन्त्री भनेको उच्च नेतृत्व हो, नेतृत्व सभापति मात्रै होइन । विधानले धेरै अधिकार महामन्त्रीलाई दिएको छ । उहाँहरू कार्यालयको प्रमुख हो । संगठन परिचालनको जिम्मेवारी पनि उहाँहरूको हो,’ शाही भन्छन्, ‘संगठन गर्न, देशभर अभियान घोषणा गर्न उहाँहरूले सभापतिको आदेश कुरेर बस्न जरुरी छैन । आफैं निर्णय गरेर जान सक्नुहुन्छ ।’
धेरैले आशा गरेका नेता प्रतिक्रियमा सीमित हुँदा प्रश्न उठ्ने उनी बताउँछन् ।
‘धेरैले आशा र अपेक्षा गरेका महामन्त्रीहरू विधानको अक्षरशः पालना भनेर बस्ने होइन । नराम्रो पो गर्नुभएन, पार्टी हितका लागि विधानबाहिर गएर भए पनि काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘उहाँहरूले काम गरेर देखाउनुपर्छ । उहाँहरूले प्रमाणित गर्न नसक्दा युवा पुस्तामाथि नै प्रश्न उठ्छ ।’
हिजो एउटा समय थियो– कांग्रेसको विकल्प एमाले, एमालेको विकल्प कांग्रेस । तर स्थानीय तहको निर्वाचनपछि स्वतन्त्र र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको लहरले पुराना दलमाथि भयंकर दबाब खडा गरेको छ । नयाँ दल रास्वपाले ४ मंसिरको निर्वाचनमा दलहरूलाई झस्कायो ।
त्यतिबेला २० सीट जितेको दलले उपनिर्वाचनमा झन् एक सीट बढाउँदा कांग्रेस र एमालेलाई झट्का दिएको छ । तर, आशा गरिएका कांग्रेसका नेताद्वय पार्टीमा काम गर्ने भूमिका भएन भन्दै सामाजिक सञ्जालबाट गुनासो गर्न विवश छन् ।
पार्टीलाई नयाँ जीवन दिएर प्रतिस्पर्धीबीच अलग र आशालाग्दो बनाउनुपर्ने चुनौती छ । तर गगन र विश्वप्रकाशका लागि सभापति देउवा चुनौतीका रूपमा खडा भएका छन् । पार्टीभित्रै लड्नुपर्ने अवस्थाकाबीच २०८४ को चुनावसम्म यत्तिकै बरालिनुपर्ने जोखिम देखिएको छ । त्योबेलासम्म गगन र विश्वप्रकाशप्रति देखिएको उत्साह र भरोसा पनि टुट्न सक्ने देखिन्छ ।
पुराना दलप्रति वितृष्णा हुँदा युवा नेतासामु पार्टी परिवर्तनको लहरप्रति प्रतिबद्ध भएको देखाउनुपर्ने अवस्था छ । तर, दुवै नेताहरू काम गर्न पाउनुपर्यो भन्नै विवश छन् । तर, विधानले दिएको यति काम हामीले गर्यौं भन्न सकिरहेका छैनन् ।
पुराना नेता एकपछि अर्को अनियमितता र भ्रष्टाचारमा मुछिँदा यी दुई नेतामाथि स्थापित हुने जबर्जस्त अनुकूल समय छ । तर, महत्त्वपूर्ण पदमा भइरहेका बेला पार्टीलाई रचनात्मक र बाध्यकारी दबाब बढाउन सकिरहेका छैनन् ।
यसबारे प्रतिक्रिया लिन खोज्दा महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि धेरै काम गर्न बाँकी रहेको संक्षिप्त प्रतिक्रिया दिए ।
अर्का महामन्त्री शर्माले छिटोभन्दा छिटो पार्टी बैठक बसेर रचनात्मक ढंगले अगाडि बढ्नुपर्ने बताए ।
‘अब छिट्टै केन्द्रीय समिति बैठक बस्छ, नीति महाधिवेशन घोषणा हुन्छ, चाँडै राष्ट्रव्यापी अभियान पनि घोषणा हुन्छ,’ शर्माले भने, ‘त्यसपछि पार्टीका संरचनाले पूर्णता पाउँछन्, पार्टीले गति लिन्छ ।’
थप सामग्री :
चौतर्फी आलोचनाका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषलाई ब्युँताएर प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ५ करोड बजेट छुट्याए । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाक...
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् । संसद्लाई जानकारी ...
दिनहुँजसो दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा निस्किन्छन्, भाषण गर्छन्, यो वर्षौंदेखिको नियमित कर्म हो । तुइन विस्थापित नहुँदा विद्यालय हिँडेका बालबालिका नदीमा खस्ने देशका नेताहरू लाखौंको हेलिकप्टर चा...
रूपान्तरण र पुस्तान्तरणको बहस हुँदै आएको कांग्रेसमा आधा कार्यकाल पूरा नगर्दै सभापति शेरबहादुर देउवामाथि एकपछि अर्को प्रश्न उठ्न थालेका छन् । पुरानो ढर्राको नेतृत्वले बदलिँदो समयलाई सम्बोधन नगर्दा चुनौती थपिएको...
भारतको नयाँ संसद् भवनमा राखिएको राजदण्ड सेन्गोलका विषयमा विभिन्न बहसहरू भइरहेका छन् । सेन्गोल र यसको इतिहासका बारेमा संक्षिप्त चर्चा गरौं । सेन्गोल तमिल शब्द सेम्मईबाट बन्छ । त्यसको अर्थ धर्मपरायणता हु...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...