
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ ।
अहिलेसम्म १५ शय्या रहेकोमा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ ।
बिरामीले ‘आइसोलेसन’ सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालय लगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उनले जानकारी दिए । करीब ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर ३०० पुर्याइने डा. चापागाईंकोे भनाइ छ ।
आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार रातो, पहेंलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ । बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ । सरकारको संघीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ ।
यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए ।
भेरी अस्पताल विकास समितिका पदाधिकारीको समेत बिदाइ गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सरस्वती मल्ल, कृष्णप्रसाद श्रेष्ठ र धनराम ओलीको बिदाइ गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले कदरपत्रसहित सम्मान गर्दै समितिका पदाधिकारीलाई बिदाइ गरेका छन् ।
अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ जेठ १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ वर्षका लागि नियुक्त गरेको थियो । भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराइएको छ । अस्पतालमा १ हजार ३७६ कर्मचारी आवश्यक रहेकोे बताइएको छ ।