२९ जेठ २०८३, शुक्रबार
पहुँचको भरमा दादागिरि

संसद् परिसरमै रेस्टुरेन्ट चलाएका चण्डीराजको बदमासी– ४ वर्षदेखि तिरेनन् भाडा

जेठ ११, २०८०
संसद् परिसरमै रेस्टुरेन्ट चलाएका चण्डीराजको बदमासी– ४ वर्षदेखि तिरेनन् भाडा

बानेश्वरस्थित संसद् भवन परिसरभित्र रेस्टुरेन्ट चलाएको एक व्यापारिक घरानाले झण्डै ४ वर्षदेखि भाडा नबुझाएको पाइएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले संसद् परिसरकै भवन व्यवसायी चण्डीराज ढकालको बेइजिङ रोस्ट डक रेस्टुरेन्टलाई भाडामा दिएको छ ।

चिया, गार्मेन्ट, फेसन वीयरसहितका व्यापार र उद्यममा रहेका ढकाल एक व्यावसायिक घरानाका रूपमा चिनिन्छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा २०६२ देखि ०६४ सम्म अध्यक्ष भएका ढकालले राजनीतिक पहुँचकै आधारमा भाडा नतिरी लामो समयदेखि सरकारी समितिलाई झुलाइरहेका छन् ।

ढकालले ९ पुस २०७५ मा नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको एक छेउमा रहेको उक्त रेस्टुरेन्ट भाडामा लिएका थिए । १० वर्षका लागि ढकालले भाडामा लिएको रेस्टुरेन्टले अहिलेसम्म मुस्किलले एक वर्षको मात्रै भाडा तिरेको छ । 

null

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले भाडा तिर्न पटक–पटक ताकेता गर्दा पनि ढकालले बेवास्ता गरिरहेका छन् । ढकालको उक्त रेस्टुरेन्ट चलाउन घरभाडा, पानी, बत्ती र सरसफाइको गरेर वार्षिक ८४ लाख रुपैयाँ भाडा तिर्नुपर्ने सम्झौता छ । सम्मेलन केन्द्र विकास समितिसँग गरेको सहमति अनुसार ढकालले भाडा तिरेका छैनन् । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको नयाँ बानेश्वरमा रहेको बहुउद्देश्यीय व्यापारिक भवनमा यो रेस्टुरेन्ट छ । रेस्टुरेन्टले घर भाडा, बहाल कर, पानी, बत्ती र सरसफाइ समेत गरी मासिक ६ लाख ७२ हजार रुपैयाँ सरकारी समितिलाई बुझाउने गरी सम्झौता गरेको छ ।

हेर्नुहोस्, सम्झौता :

 

सम्मेलन केन्द्रको उत्तरपश्चिम कुनामा रहेको बहुउद्देश्यीय व्यापारिक भवनको दोस्रो र तेस्रो तला तथा तेस्रो तलाको बाहिरी भाग भाडामा लिएर ढकालले रेस्टुरेन्ट चलाएका छन् । 

उनले रेस्टुरेन्ट चलाएदेखि हालसम्म तिर्नुपर्ने भाडा साढे ४ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ, यसमध्ये पटक–पटक गरेर मुश्किलले १ करोड तिरे पनि साढे ३ करोड रुपैयाँभन्दा बढी बाँकी रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका सूचना अधिकारी कमल थापाले बताए ।

उनका अनुसार रेस्टुरेन्टले कोरोनापछि आएको समस्याका कारण भाडा तिर्न नसकेको जानकारी दिएको छ । लामो समदेखि ठाउँ ओगटेर बस्ने तर, भाडा नतिर्ने रबैयाविरुद्ध समितिको ध्यानाकर्षण भएको उनले बताए ।

२०७९/०८० मा बुझाउनुपर्ने भाडा

सम्झौताविपरीत तेस्रो पक्षलाई भाडामा, सरकारी निकाय बेखबर

ढकालले भाडामा लिएको रेस्टुरेन्टले पनि तेस्रो तला अर्कैलाई भाडामा लगाएको छ । ढकालले भाडामा लिएको रेस्टुरेन्टको एउटा तला तेस्रो पक्षलाई भाडामा दिएका हुन् ।

तेस्रो तला र त्यसको कौशीमा द लफ्ट नामक रेस्टुरेन्ट सञ्चालनमा छ । उससँग भने ढकालले नियमित भाडा असुलिरहेका छन् ।

सम्मेलन केन्द्र र बेइजिङ रोस्टबीच भएको सम्झौताविपरीत ढकालले तेस्रो पक्षलाई भाडामा राखेका छन् । उक्त क्षेत्र अनुमतिविना तेस्रो पक्षलाई भाडामा लगाउन नपाइने भाडा सम्झौताको बुँदा नम्बर ७ मा उल्लेख छ । भाडामा लगाउनु परेमा समितिको पूर्व स्वीकृति चाहिन्छ । तर, ढकालले समितिको स्वीकृतिविना नै तेस्रोपक्षलाई ३ वर्षदेखि भाडामा राखेका छन् ।

द लफ्टले मासिक २ लाख ८७ हजार रुपैयाँ ढकालको कम्पनीलाई भाडाबापत बुझाउनुपर्छ । विकास समितिका सूचना अधिकारी थापा तेस्रो पक्षलाई भाडामा लगाएको विषय भने आफूहरूलाई जानकारी नभएको बताउँछन् ।

आफू झण्डै ४ वर्षसम्म भाडा नबुझाउने ढकालले द लफ्टसँग भने २ दिन पनि समय नाघ्न नदिई भाडा उठाउने गरेका छन् । एकपटक त भाडा तिर्न ढिला भएको भन्दै ढकालले लफ्ट रेस्टुरेन्ट प्रवेश गर्ने भर्‍याङमै साङ्लो र भोटे ताल्चा ठोकिदिएको स्रोतले दाबी गर्‍यो ।

भाडा समयमा नै नदिएको भन्दै बाटो छेकेर व्यवसाय नै रोक्ने काम पटक–पटक भएको द लफ्टका सञ्चालक राजेन्द्र श्रेष्ठले पनि स्वीकारे ।

व्यवसाय सञ्चालनका लागि स्थानीय पालिकामा दर्ता हुनुपर्ने विद्यमान कानूनी प्रावधान छ । तर, ढकालले यो व्यवसाय दर्ता नगरी चलाएका छन् । उनको रेस्टुरेन्ट काठमाडौं महानगरपालिकाको वडा १० मा रहेको छ । वडा कार्यालयमा व्यवसाय दर्ता नगरिकनै सञ्चालन गर्दा राज्यले पाउनुपर्ने कर पनि गुमेको छ । 

लामो समयदेखि भाडा नबुझाउने बेइजिङ रोस्टलाई कारबाहीको तयारी भएको समितिका सूचना अधिकारी थापाले बताए ।

‘अब पत्र काटेर पैसा तिर्न आउने समय दिइने छ । समयमा नआए सम्झौता खारेज गरेर जाने तयारी भइसकेको छ’, थापाले भने ।

व्यापार कम, तनाव बढी– ढकाल

बेइजिङ रोस्ट डकका सञ्चालक चण्डीराज ढकालले भने व्यापार कम तनाव बढी भएको प्रतिक्रिया दिए ।

हाल व्यापारिक कामको सिलसिलामा बंगलादेशको ढाकामा रहेका ढकालले लोकान्तरसँग भने, ‘यो रेस्टुरेन्टमा व्यापार कम, तनाव बढी छ ।’

ढकालले अब आफू रेस्टुरेन्ट बन्द गर्ने पक्षमा रहेको जानकारी दिए ।

‘विभिन्न समस्या र व्यापार नभएको अवस्थामा पनि डेढ करोड रुपैयाँ तिरिसकेका छौ । यहाँ त संसदीय इश्यु हुने, व्यवसाय गरिखान खोज्नेलाई लखेट्नेसहितका समस्यैसमस्या छ । एक साताभित्र नेपाल फर्किन्छु र यो रेस्टुरेन्ट बन्द गर्ने प्रक्रिया अगाडि बढाउँछु ।’

उनले पहिलो पक्षसँगको सहमतिविपरीत तेस्रो पक्षलाई भाडामा लगाएको स्वीकार गरे । समयमा भाडा नबुझाउँदा ४ दिनसम्म प्रवेशमा रोक लगाएको पनि उनको स्वीकारोक्ति छ ।

भाडामा लिनेले समयमा पैसा नतिर्ने, दिएको चेक पनि 'बाउन्स' भइरहने समस्याले गर्दा सचेत गराउन त्यसरी प्रवेशमा रोक लगाएको उनको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्