०६ असार २०८३, शनिबार

मोरङका छोटी भन्सारको बेहाल : संकलित राजस्वले कर्मचारी पाल्न पनि पुग्दैन

विराटनगर भन्सारलाई पनि लक्ष्य भेट्न दैनिक ५१ करोड राजस्व संकलन गर्नुपर्ने अवस्था
जेठ १४, २०८०
मोरङका छोटी भन्सारको बेहाल : संकलित राजस्वले कर्मचारी पाल्न पनि पुग्दैन
तस्वीरमा विराटनगर भन्सार कार्यालय

मोरङका छोटी भन्सार कार्यालयहरूको आम्दानीभन्दा खर्च बढी हुने गरेको पाइएको छ । 

स्थापना भएका कुल ९ छोटी भन्सारमध्ये ६ वटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका ३ मध्ये पनि एउटाले मात्र राजस्व संकलन गर्ने गरेको छ ।

भारतसँग मोरङको ६३ किलोमिटर सीमा छ । यही बीचमा स–साना नाकालाई समेट्ने गरी छोटी भन्सार कार्यालयहरू स्थापना भएको थियो । तर, सञ्चालन खर्च पनि धान्न नसकेको भन्दै छोटी भन्सारहरू धमाधम बन्द भएका हुन् ।

थोरबहुत राजस्व संकलन गरिरहेको मायागञ्ज भन्सार कार्यालयले गत वर्ष जम्मा ८ लाख ३२ हजार १० रुपैयाँ संकलन गरेको थियो । चालू आवको चैत मसान्तसम्ममा १३ लाख ८७ हजार ७१८ रुपैयाँ संकलन भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले बताए । 

उक्त छोटी भन्सारमा एक नायब सुब्बा र दुई सहयोगी बस्ने गरेका छन् ।

‘कर्मचारीलाई तलब दिन समेत पुग्ने अवस्था छैन,’ विराटनगर भन्सार कार्यालयका एक अधिकृतले भने, ‘न सरकारले थप केही निर्णय गर्छ, न त राजस्व संकलन नै हुन्छ । ’

सञ्चालनमै रहेका रंगेली र डाइनिया छोटी भन्सारबाट राजस्व संकलन हुँदैन । यी कार्यालयमा २/२ जना कर्मचारी बस्ने गरेका छन् । 

कोरोना संक्रमणकालदेखि यी कार्यालयहरूबाट राजस्व संकलन गर्न छाडिएको दाहालले बताए ।

अवैध व्यापार नियन्त्रण तथा वैध व्यापारमा सहजीकरण गर्ने उद्देश्यले छोटी भन्सारको स्थापना गरिएको थियो । जहदा गाउँपालिकाको मधुमल्ला, धनपालथान गाउँपालिका मझारेस्थित तरिगा, रतुवामाई नगरपालिकाको चुनिबारी र चौकीघाट छोटी भन्सार २०५३ सालदेखि बन्द छन् । 

तत्कालीन जनयुद्धमा सुरक्षाको कारण देखाउँदै बन्द भएका यी छोटी भन्सार पुन सञ्चालनमा आउन सकेका छैनन् । यी कार्यालयहरू प्रहरीले संरक्षण गर्दै आइरहेको छ ।

छोटी भन्सार बन्द भएपछि खुला सीमाको फाइदा उठाउँदै चोरी निकासी समेत बढ्ने गरेको कर्मचारीहरू बताउँछन् । ‘छोटी भन्सार बन्द भएपछि अहिले प्रशासनसँगकै मिलेमतोमा दैनिक लाखौं रुपैयाँको सामग्री भित्रिने गरेको छ,’ एक कर्मचारीले भने ।

प्रतिव्यक्ति वा फर्मले १५ हजार रुपैयाँसम्मको सामान ल्याउँदा छोटी भन्सारले राजस्व लिने गरेको थियो । छोटी भन्सारको राजस्वको लक्ष्य भने हुँदैन ।

छोटी भन्सार बन्द भएपछि खुला सीमाबाट चोरी निकासीकर्ताले फाइदा लिने गरेका छन् ।

कोशी प्रदेशमा भारत तथा चीनका नाका लक्षित विभिन्न सातवटा भन्सार कार्यालय छन् । 

इलामको पशुपतिनगर, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, सुनसरीको सुनसरी, मोरङको विराटनगर, झापाका मेची र भद्रपुर भन्सार कार्यालय सञ्चालनमा छन् ।

राजस्व संकलनका हिसाबले मेची र विराटनगर भन्सार अगाडि छन् । तर, पनि चालू आवमा भने यी भन्सारहरूले लक्ष्यको आधा राजस्व पनि संकलन गर्न सकेका छैनन् ।

चालू आर्थिक वर्षमा ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको विराटनगर भन्सार कार्यालयले १० महिनाको अवधिमा जम्मा २७ अर्ब ६६ करोड मात्रै राजस्व संकलन गरेको छ । ‘लक्ष्यअनुसार अहिलेसम्म ५० अर्ब उठ्नुपर्थ्यो । लक्ष्य भेट्ने हो भने अब दैनिक ५१ करोडका दरले राजस्व उठाउनुपर्छ, जुन सम्भव छैन’, सूचना अधिकारी परशुराम दाहालले भने ।

विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।

कोभिडका कारण नाका बन्द भएको आर्थिक वर्ष २०७६/०७७ मा ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । त्यति बेला ५८ दशमलव ४२ प्रतिशत अर्थात २९ अर्ब ३१ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असुली भएको थियो । उक्त वर्ष लक्ष भने ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ लक्ष्य राखेको कार्यालयले असुली भने त्यसको ८१ दशमलव ४१ प्रतिशत अर्थात ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व संकलन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्