२८ जेठ २०८३, बिहीबार
सन्दर्भ: गणतन्त्र दिवस

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०
गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थुपार्न लाज मान्नुहुन्न ? तपाईं नीति, सत्य र आत्माको शुद्धताप्रति किन ध्यान दिनुहुन्न ?’ बटुवाले नीति र आत्माशुद्धताको चित्तबुझ्दो जवाफ दिएपछि मात्र अगि बढ्न दिन्थे ।

उसको बुझाइमा अस्पष्टता रहे महान् नागरिक बन्न आवश्यक आचरणको उपदेश दिन्थे । यो समय राज्य व्यवस्थाको करीब प्रारम्भिक अवस्था थियो । उनले कुनै कुरा लेखेनन्, छपाएनन्, न त्यसप्रतिको चिन्ता नै लिए । पछि उनका शिष्य प्लेटोले उनका विचारलाई राजनीति, राज्यकौशल र राज्यसञ्चालनका सिद्धान्तका रूपमा किताब लेखे ।

वेद, पुराण र श्रुतिहरूमा उल्लेख भएको पूर्वीय दर्शनमा भने आदर्श, इमान्दारी र निष्ठा राज्यकौशलका आधार थिए । लोभ, लालसा, क्रोध, आशक्तिलाई नर्क जाने बाटो मानिन्थ्यो । शास्त्र (नीति), धर्म (आचरण) र कर्म (काम) राज्य सञ्चालनका आधार थिए । मर्यादा पुरुषोत्तम रामचन्द्र, सत्यवादी युधिष्ठिरहरू राज्यकौशलका उदाहरण थिए । 

पश्चात्य र पूर्वीय दुवै दर्शनले योग्यता र प्रक्रियालाई शासन सञ्चालकको गुण मान्दछ । मानिस वंश, जात वा वर्गका आधारमा श्रेष्ठ बन्दैन, कर्मका आधारमा मात्र श्रेष्ठ बन्दछ भन्ने साझा निष्कर्ष छ । त्यसैले वंश अधिकारलाई लोकतन्त्र/गणतन्त्रले विस्थापन गरिएको हो । भुल्न के हुँदैन भने सबै लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् । वंश अधिकार वा जन्म श्रेष्ठताको मान्यतालाई दुवैले मान्दैन । 

तर, आजभोलि नीतिवान नेता र निष्पक्ष प्रक्रियाको माग निकै बढेको छ, किनकि समाजमा त्यसैको अभाव । नभएको कुराको नै महत्त्व बढी हुने हो । लोकतन्त्र/गणतन्त्रका सिद्धान्तअनुसार शासन चलेको छैन । राज्यलाई नैतिक संस्थाको रूपमा क्रियाशील बनाउन यसका पात्रहरू, विशेषतः राजनीतिज्ञहरूमा नैतिकता, निष्ठा र इमान्दारिता पातलिँदै गएको छ । 

एउटा आदर्श नेतामा कस्तो गुण हुनुपर्छ ? नेताको सफलता प्रणाली निर्वाह मात्र हो कि नवोन्मेष र जनआशाको निर्माण हो ? नेताले अनुयायीलाई आफूभन्दा उम्दा नेतृत्वमा पुर्‍याउने कि अनुचर मात्र बनाइराख्ने ? यी विषय आजभोलि ओजिला भएका छन् । 

लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्दछन् । मोहनदास निकै दुब्ला, पातला र मरन्च्याँसे थिए । बीपी पनि पातला र दुब्ला थिए । डे ल्कार्कभन्दा मण्डेला दुब्ला थिए ।

राजनेताहरू सत्य बोल्छन्, बोल्नु पर्दछ । सत्यलाई प्रमाणित गरिरहनु पर्दैन । सत्यको व्याख्या पनि चाहिँदैन । सत्यभित्र आत्मा छुपेको हुन्छ, विवेक बसेको हुन्छ । राजनीतिमा सत्य भनेकोचाहिँ जनताको विश्वास बोल्नु हो । यसो भन्नुको मतलब मन जनताको हुन्छ, मुख मात्र नेताको हुनु हो । तर, तेस्रो विश्वमा राजनीति असत्य बोल्ने पेशाका रूपमा रूपान्तरित हुँदैछ । धेरैजसो राजनीतिकर्मीहरू झूट, व्यभिचार र अनविश्वासमा उभिएर उनीहरूले बुझेको राजनीति गरिरहेका छन् । वास्तवमा त्यो राजनीति वा राज्यनीति नै होइन, व्यभिचार वा अनीति हो, तैपनि राजनीति भनिँदैछ । यही असत्य र यदाकदा अर्धसत्यको आडमा देश चल्ने नियति चलिरहेको छ ।

असत्यभन्दा अर्धसत्य झनै खतरनाक हुन्छ । परिणामतः जनता र राज्यबीचको दूरी फराकिँदै गएको छ । राज्यले वैधता गुमाउँदै गएको छ र राजनीति पेशाका रूपमा अपनाउनाको कारण नै जनताको अख्तियारी, मत र करको जथाभावी प्रयोगका लागि उछिनापछिन छ । कोही सडक, कोही सञ्जाल, कोही सत्ता, कोही सदन, कोही प्रतिपक्षमा छन्, तर जनअख्तियारी चलायमान छैन ।

तैपनि भन्ने गरिन्छ, राजनीति सहभागिता र उत्तरदायित्वको खेल हो, राजनीति जनताका लागि गरिन्छ, राजनीति विकासका लागि गरिन्छ, राजनीतिले गरिबी र असमानता हटाउँछ, राजनीतिले जनजीविकाको बाटो सहज बनाउँछ आदिआदि । मानौं, आरस्तु, हव्स, रुसो र जेफर्सनका राजनीतिक सिद्धान्त र प्रजातन्त्रको व्याख्या गलत भएको त होइन ? तर यस प्रश्नको उत्तर दिने जिम्मेवारहरू सधैं सत्यलाई थाती र विवेकलाई बन्धकी राखेर बोल्छन्, जो बोल्न सक्दैनन्, उनीहरूसँग मात्र विवेक बाँकी छ । विवेक र बोलीको एकाकार कहिले भेटिने हो ? 

गोपीनाथ मैनाली

उत्तरआधुनिक कालमा राजनीति भनेको लोकतन्त्रलाई सुसंस्कृत गराउने अभ्यास हो, त्यसैले यो जीवन पद्धति पनि हो भनिन्थ्यो । यो भन्दा बढी न यसको अर्थ छ न व्याख्या नै आवश्यक छ । लोकतन्त्रलाई सुसंस्कृत बनाउन संविधानले नीति, उद्देश्य, संरचना, संयन्त्रको व्यवस्था र भूमिकाको विभाजन गर्ने गर्छ, त्यसैले यो समस्त जनताको साझा अभिव्यक्ति पनि हो ।

यसबाट घोषणा गरिएका मूल्य मान्यतालाई संस्थागत गराउन राजनैतिक प्रणाली क्रियाशील हुने गर्दछ । राजनैतिक प्रणाली सभ्य, सुसंस्कृत, उदार र विवेकशील भएमा मात्र समाज र राजनीतिले लोकतन्त्रको अभ्यास गर्दछ । सत्तारोहण र शक्तिलिप्साका लागि यसलाई उपयोग गरिएमा राजनीति प्रदूषित हुने मात्र होइन, समस्त राज्य प्रणाली नै प्रदूषित हुन्छ । 

हुने खाने र शक्तिलाई प्रभाव पार्ने सामर्थ्य भएकाहरू नै सत्ताका खेलाडी हुने गर्दछन् । तर, जनता लोकतन्त्रको नाममा स्वागत, सत्कार, लावालस्कर, समर्थन र स्रोतको सहयोगी भूमिकामा मात्र रहन्छन् । राजनीति गर्नेहरू बोलिदिन्छन् । सरकारमा रहँदा र पार्टीमा रहँदा फरक–फरक कुरा बोल्नु पर्छु । सत्य त फरक नहुनु पर्ने हो । सत्यको थोरै अंश सत्तामा पुग्नुअघि बोलिन्छ, त्यहाँ पुगेपछि भने त्यति बोल्न पनि जरुरी ठानिँदैन । जे बोल्न र भन्न पनि छूट छ, किनकि शक्तिमा पुग्नेहरूले बोलेका कुरा प्रेसले छाप्छ, प्रशासनले मान्छ, दूरदर्शनले देखाउँछ । भनिन्छ, झूट पनि सयबार बोलेपछि सत्य बन्छ ।

असत्यलाई सयौंबार बोलेर सत्यमा स्थापित गर्नु राजनीतिमा लागेका अधिकांशको स्वभाव हो । देवकोटा जिउँदै भएका भए थुप्रै मसलाका रुखले कथित सत्य साहित्यमा ओकल्थे होलान्, तर अहिले बुढो घण्टाघरले मौनता साँधेर परम्परागत र नयाँ सत्ता, सडक, सदन, सरकार सबैको इतिहास हेरिरहेको छ । धरहरा हेर्न नसकेर गर्लम्म ढल्यो । जनतालाई लोकतन्त्रको नयाँ परिभाषा चाहिएको छ, प्रायोगिक अर्थ चाहिएको छ, जसले परिश्रम, पसिना र सुरक्षाको प्रत्याभूति गर्न सकोस् । भविष्यको प्रत्याभूति गर्न सकोस् । 

लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्दछन् । मोहनदास निकै दुब्ला, पातला र मरन्च्याँसे थिए । बीपी पनि पातला र दुब्ला थिए । डे ल्कार्कभन्दा मण्डेला दुब्ला थिए । २०३७ सालतिरको कुरा हो, शहीद दिवस मनाउन खुलामञ्चमा आसीन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र उनकै छेउमा बसेका युगकवि सिद्धिचरण श्रेष्ठ अनि जिउँदो शहीद रामहरि शर्मालाई देखाउँदै कवि केदारमान व्यथितले भनेका थिए, नेपालमा उल्टो भो, जिउँदो शहीद र उनीहरूका कविता लेख्नेहरू खबटे गाला र फु गर्दैमा ढल्लन् जस्ता छन्, तर मुलुकको चिन्ता लिएर दुब्लाउनु पर्ने प्रधानमन्त्रीका गाला भने त्यसै रगत चुहिएलाजस्तो तातो जलेबी स्वरूपमा किन ? शहीद दिवस मनाउन आएकाहरू एकछिन अकमक्क भएका थिए । त्यसपछि कविता वाचन गर्न बसेका युवा कविहरू शहीदको अपमान सम्झिएर कविता वाचन नै नगरी फर्किन खोजे । एकैछिनमा युवाकवि लव गाउँले उर्लिन पुगे, ‘शहीद देवाताभन्दा महान् हुन्छ, शहीदको सधैं पूजा हुनुपर्छ ।’ 

कवि ‘व्यथित’ को अभिव्यक्ति प्रतीकात्मक थियो । वास्तविकता पनि के हो भने जनताका खातिर चिन्ता लिनेहरू जनतासँगै दुब्लाउनु वा मोटाउनु पर्छ । जनता झुम्रिँदा टल्किनु र जनता दुब्लाउँदा मोटाउनुको सोझो अर्थ व्यवस्था सञ्चालकहरू जनताको मन जित्न, जनताप्रति चिन्ता गर्न सक्षम छैनन् भन्ने हो । 

जनताका विषयमा सोच्ने मन र दिमाग दुब्लाउने अनि शरीर मोटाउने क्रम सत्ता सयलको परिचायक हो भनेर भनिरहनु परोइन । ‘ल्पेजर इनर्सिया’ ले मनलाई विकृत पार्दछ । मष्तिष्कलाई क्षीण बनाउँछ । यसको क्षतिपूर्तिस्वरूप शरीर मोटाउँछ, भीमकाय बन्छ । मोटो नेता यही इनर्सियाका उपज हुन् ।

जनताका विषयमा सोच्ने मन र दिमाग दुब्लाउने अनि शरीर मोटाउने क्रम सत्ता सयलको परिचायक हो भनेर भनिरहनु परोइन । ‘ल्पेजर इनर्सिया’ ले मनलाई विकृत पार्दछ । मष्तिष्कलाई क्षीण बनाउँछ । यसको क्षतिपूर्तिस्वरूप शरीर मोटाउँछ, भीमकाय बन्छ । मोटो नेता यही इनर्सियाका उपज हुन् । मोटो शरीर विम्बात्मक अव्यिक्ति हो, लाक्ष्यणिक हो । भन्न खोजिएको कुरा चाहिँ जनताभन्दा सुखी त्यहाँका नेता हुनुहुँदैन भन्ने हो । 

नीतिशास्त्रीहरू राज्यलाई नैतिक संस्था भन्न रुचाउँछन् । राजनीतिशास्त्रीहरू यसलाई आदर्श संस्था भन्न रुचाउँछन् । आदर्श यस अर्थमा भन्न खोजिएको हो कि आमजनताको भलो इच्छालाई राज्यले समेट्नु पर्दछ । सबैको भलो हुने कार्य आदर्श हो । नैतिक भनेको चाहिँ भलो मूल्य सिर्जना गर्ने स्वभाव वा प्रवृत्ति हो । असल बुझाइ, असल सोच र असल कार्यले नेतालाई नैतिक बनाउँछ । कुनै संस्था नैतिक वा आदर्श बन्न त्यसका सञ्चालकहरू आदर्श, सक्षम र उदाहरणीय बन्नुपर्दछ भन्ने मान्यता प्लेटो र कौटिल्य हुँदै आजसम्म पनि स्थापित छ । 

नेतृत्वको अर्को नाम उदाहरणीयता हो । सबैखाले संस्था र यसका सञ्चालकहरू मनोकेन्द्रित भए भने राज्यलाई वैध भन्ने आधारहरू भेट्न सकिँदैन । योग्यहरू अनैतिक हुँदा इमान्दार सर्वसाधारणको कुनै अर्थ रहँदैन र देश,  समाज र समयले थुप्रै लागत चुकाउनु परेको उदाहरण छ । अयोग्यहरूले चलाउने सत्तारूपी जेट यसमा यात्रा गर्नेको मात्र शयर हो,  अरूका लागि भने त्यो लागत मात्र हो, जोखिमको भुमरी हो । 

राजनेताहरू स्वच्छ हुने गर्दछन् वा स्वच्छता नेतृत्वको आधार शर्त हो । तेस्रो विश्वमा यसको आत्मपरक व्याख्या हुँदै आएको छ । आर्थिक मामिला त्यो पनि अरूले प्रमाण देखाउन नसक्ने हदमा नै यसलाई लिइँदै आएको छ । निगरानी गर्ने निकायले गरेको कारवाहीका हदमा मात्र यसलाई सीमित गरिँदै छ । जब नेताहरू आफूलाई वास्तवमै उदाहरणीय देखाउन सक्दैनन्, त्यतिबेला तर्क र प्रमाणको सहारा खोज्न पुग्छन् । नैतिक साहस गुमेको अवस्थामा सबै प्रकारका परम्परागत वा आर्जित शक्ति प्रयोग गर्ने पदाधिकारीहरू मैलो स्वरूपमा आफ्नै अनुहार हेरिरहेका छन् ।

उनीहरू सबैलाई थाहा छ, हिजोको आफूहरूको अवस्था र वर्तमानको जीवन शैली । आफ्ना विषयमा सबैभन्दा जानकार स्वयं उनीहरू नै छन् । के साँच्चै दुःख र जिम्मेवारीको भारी बोक्ने मानिसको जीवनशैली एक्कासि आकासिन्छ ? के यसरी विलाशिताको व्यवसाय गर्न नेताहरूको नैतिक र व्यावसायिक आचरणले दिन्छ ? चार्वाकवादी दर्शन भोग्नेहरूले आफूहरू स्वच्छ छु भन्ने आलाप आलाप्दैमा त्यसको पुष्टि हुन्छ ? यी अनुत्तरित प्रश्नको उत्तर कहिले पाइने ? गणतन्त्र दिवसले यही उत्तर खोज्न जिम्मेवार सबैलाई घच्घच्याओस् । गणतन्त्र दिवसको शुभकामना । (@mainaligopi)

salt training

कमेन्ट गर्नुहोस्