२५ असार २०८३, बिहीबार

नक्कली शरणार्थी प्रकरण : जाहेरीकर्ता आफैं फरार अभियुक्त, प्रहरीलाई थाहा छ, तर पक्रिँदैन

जेठ १५, २०८०
नक्कली शरणार्थी प्रकरण : जाहेरीकर्ता आफैं फरार अभियुक्त, प्रहरीलाई थाहा छ, तर पक्रिँदैन

नक्कली शरणार्थी प्रकरणमा प्रहरीमा जाहेरी दिने एक व्यक्ति आफैं फरार अभियुक्तको सूचीमा छन् ।

ठगीमा परेको भन्दै जाहेरी दिने दाङको तुलसीपुर उपमहानरपालिका– ५ का गजेन्द्र बुढाथोकी आफैं पनि यही प्रकरणमा फरार अभियुक्तको सूचीमा रहेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सन्देश शर्माले ९ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीसहित ६१ जनाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । 

जाहेरीकर्ता बुढाथोकीविरुद्ध पनि यही प्रकरणमा जिल्ला अदालत दाङले २०७८ फागुन १९ गते पक्राउ पुर्जी जारी गरेको छ । 

पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार छन् । 

जिल्ला सरकारी वकिल कार्यालय दाङले करीब डेढ करोड ठगीको अभियोगमा गजेन्द्रविरुद्ध फागुन ३० गते जिल्ला अदालत दाङमा अभियोग पत्र दायर गरेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ७ जनाबाट १ करोड ४९ लाख रुपैयाँ ठगी गरेको आरोप बुढाथोकीमाथि छ । 

अभियोग पत्रमा गजेन्द्रले द्रोणबहादुर अधिकारी, राजु केसी, लेखनाथ योगी र दीपक केसीबाट २०/२० लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।

यस्तै प्रमोदविक्रम राणाबाट ३० लाख, सुदन बस्नेतबाट २४ लाख र राकेश लामिछानेबाट १५ लाख रुपैयाँ ठगी गरेको अभियोग गजेन्द्रमाथि छ ।

गत पुस १९ मा जाहेरी दिएका उनीहरूले २०७८ चैत २ गते बुढाथोकीलाई पैसा बुझाएको उल्लेख गरेका छन् ।

यता जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने उनलाई मुख्य जाहेरवाला मानेर अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर जेठ १० गते अभियोग पत्र दायर गरेको थियो । 

काठमाडौं प्रहरीले गरेको कागजमा दाङमा उजुरी दिने द्रोणबहादुर अधिकारीले गजेन्द्रलाई २० लाख दिएको कागज गरेका छन्, जसले दाङमा फरार भएका गजेन्द्र र काठमाडौंमा जाहेरी दिने गजेन्द्र एउटै भएको पुष्टि गर्छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले गजेन्द्र बुढाथोकी फरार अभियुक्त भएको बताए । 

‘अमेरिका पठाइदिन्छु भन्दै ७ जनालाई ठगी गरेको अभियोगमा गजेन्द्र बुढाथोकीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएर खोजी भइरहेको छ,’ एसपी ओलीले लोकान्तरसँग भने, ‘त्यो बेलादेखि फरार भएका उनी दाङ नआएकाले पक्राउ गर्न सकेका छैनौं ।’

बुढाथोकीलाई पक्राउका लागि दाङ प्रहरीले मातहतका प्रहरी कार्यालय र देशभरका प्रहरी कार्यालयमा पत्र पठाएको छ । तर, पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीले उनीसहित ६१ जनाले जाहेरी दिएको र गजेन्द्र फरार अभियुक्त रहेको कुरा पछि मात्र थाहा पाएको बताए ।

‘हामीकहाँ निवेदन आएपछि अनुसन्धानका क्रममा अदालतमार्फत गजेन्द्रविरुद्ध पनि ठगीमा जाहेरी परेको भन्ने थाहा पाएका हौं,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘तर त्यहाँ के थियो थाहा छैन, हामीलाई यहाँको मात्र थाहा हुने हो ।’

स्रोतका अनुसार गजेन्द्रविरुद्ध दाङमा पक्राउ पुर्जी जारी भएकोबारे प्रहरी जानकार छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले काठमाडौंमा मुद्दाको प्रक्रिया नसकिएसम्म उनलाई पक्राउ गरेर नबुझाउने बताए ।

‘यहाँ मुद्दा चलिरहको विषय प्रक्रियागत रूपमा टुंगो नलागेसम्म प्रहरीले पक्राउ गर्दैन । यसको सबै प्रक्रिया सकिएपछि पक्राउ गरेर पठाउँछ,’ प्रवक्ता कडायतले लोकान्तरसँग भने ।

गजेन्द्रलाई पक्राउ गर्न देशभरका जिल्लामा परिपत्र गरिएको उनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्दकुमार चौधरी, रामशरण केसी, पूर्व सासंद आङटावा शेर्पा, शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित १६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । 

लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, अनिल बुढाथोकी र बादलका छोरा प्रतीक राईसहित १४ जना फरार अभियुक्त भएको अभियोग पत्रमा उल्लेख छ ।

पक्राउ परेका र फरार रहेकाहरूविरुद्ध संगठित अपराधमा २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । 

प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध, ठगी, कीर्ते र राष्ट्रहितविरुद्धको कसूरमा मागदाबी राखेर अभियोगपत्र दायर गरिएको छ ।

अभियुक्त सबैमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण र संवैधानिक पदमा बसेकाहरूमाथि अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानका लागि लेखिपठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्