
चितवनमा गर्मी बढेसँगै पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन् ।
पछिल्लो हप्ता गर्मी ह्वात्तै बढेपछि जिल्लाका ४ पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । भरतपुर विमानस्थलका अनुसार चितवनमा बुधवार र बिहीवारको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ ।
खैरहनी नगरपालिकाले गर्मी बढेसँगै ५ दिनका लागि बन्द गरेको जनाएको छ । स्थानीय बिदा कटौती हुने गरी १ दिन र वर्षे बिदाबाट कटौती हुने गरी ५ दिन विद्यालय बिदा गरेको हो । नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावत रूपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । उनले गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले शुक्रवारदेखि विद्यालय बन्द गरिएको बताए ।
रत्ननगर नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय ५ दिन बन्द गरेको छ । नगरपालिकाले बिहीवार एक सूचना जारी गरी गर्मीका कारण बालबालिकालाई पढाउन सक्ने अवस्था नरहेको भन्दै ५ दिन विद्यालय बन्द गरेको जनाएको छ । जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदा कट्टी हुने गरी विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।
राप्ती नगरपालिकाले पनि ५ दिनका लागि विद्यालयमा बिदा दिएको जनाएको छ । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान र पठनपाठनमा प्रतिकूल असर पर्न थालेपछि सामुदायिक र सस्थागत विद्यालयमा जेठ १९ देखि २४ गतेसम्म बिदा दिइएको राप्ती नगरपालिकाकी शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् ।
माडी नगरपालिकाले शुक्रवार र आइतवार २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।