
आउँदो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’टिमका सदस्यहरूले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफूल वितरण गरेका छन् । त्यस्तै, पशुपति क्षेत्रमा यो समूहले सरसफाइ समेत गरेको छ ।
समाजसेवामा पनि हातेमालो गरौँ भन्ने सोचका साथ निर्माण टिमले उक्त कार्यक्रमको आयोजना गरेको निर्माता तेज प्रसाद दाहालले जानकारी दिए । उनले भने ‘हामी मनोरञ्जन मात्र होइन, सामाजिक काममा पनि उत्तिकै लाग्नुपर्छ भन्ने उद्देश्यले यस्ता काम गरिरहेका छौँ । भोलिको दिनमा पनि निरन्तरता दिनेछौँ ।’
फिल्मका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित यो कार्यक्रममा केही अतिथि कलाकारहरू मिस पवी, सुजन कार्की, थिएटरका चर्चित गुरु सुवलमणी सापकोटा, सुरवी सापकोटा लगायत पनि उपस्थित थिए । कलाकारसहित उनीहरूले फिल्मको पोस्टर समावेश टिसर्ट समेत लगाएका थिए ।
शुक्रवार मात्रै फिल्मका केही कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’मा पुगेका थिए । फिल्मको प्रमोसनका लागि निर्माण टिमले विभिन्न शैली अपनाएको छ ।
फिल्ममा तेजप्रसाद दाहाल, सरोज कुमार पुर्बे, सुमन खड्का, बाबुराम कार्कीको समेत लगानी छ । फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा, प्रेविल कंडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यो फिल्मले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड समेत जितेको थियो । फेस्टिबलमा उपस्थित अतिथिले फिल्मलाई मन पराएका थिए ।
पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको फिल्मको नाम पनि त्यहीबाट सापट लिइएको हो । यसले स्थानीयस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ ।
मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार फिल्मका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भीर विष्टको करियोग्राफी, शाश्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरूको आवाज सुन्न सकिन्छ । फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् ।
यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्ट्रेलिया, जापान लगायत युरोपका विभिन्न देशमा फिल्मको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिए । उनले भने, ‘अवार्ड समारोहमा हेर्ने अतिथिले दिएको प्रतिक्रियाले उत्साहित छु । आशा छ दर्शकले यसलाई मन पराउनुहुनेछ ।’