
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
ती २ निकायले डोटीका २ र अछाम जिल्लाका १ स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो । ती आँखा शिविरमार्फत १ हजार १४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको संघले जनाएको छ ।
पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले संघले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ ।
अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्टले जेठ १५ र १६ गते डोटीको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिएको जानकारी दिए ।
डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएकोे उनले बताए ।
जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले ती आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीलाई निःशुल्क चश्मा समेत वितरण गरिएको जानकारी दिए ।
अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्त, डा. लिनु रायमाझी लगायत १४ प्राविधिकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीले आफ्नै घरआँगनमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।
संघअन्तर्गत सञ्चालित गेटा आँखा अस्पतालले सुदूरपश्चिममा थप ३ ‘सेकेन्डरी लेभल’का आँखा अस्पताल, २ ‘सर्जिकल सेन्टर’ तथा १७ आँखा उपचार केन्द्रमार्फत नागरिकलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
अस्पतालको सेवा सुलभ र गुणस्तरीय समेत भएकाले छिमेकी देश भारतका नागरिक समेत आँखा उपचारका लागि गेटा आँखा अस्पतालमा आउने जनाइएको छ ।
अस्पतालले हरेक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थासँगको सहकार्यमा प्रदेशका ९ वटै जिल्लाका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहँुच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।