
भरतपुर महानगरपालिकाले घरघरमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ ।
जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो ।
जसअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र भरतपुर–२४ ध्रुव सञ्चालनमा ल्याइएको छ । विगत लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको केन्द्रले आफ्नै भवनबाट सेवा दिन शुरू गरेको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
४६ लाख रुपैयाँको लागतमा स्थापना गरिएको स्वास्थ्य केन्द्रबाट रक्तचाप मापन, औषधि वितरण र सामान्य उपचार हुनेछ । कार्यालय उद्घाटन गर्दै महानगर प्रमुख दाहालले अब यस क्षेत्रका जनतालाई सामान्य उपचारका लागि १२ किलोमिटर टाढा शिवनगर जानुपर्ने बाध्यता हटेको बताए । एक वडा एक स्वास्थ्य सेवा एकाइ कार्यक्रमअन्तर्गत अहिलेसम्म १२ वटा वडामा भवन निर्माणको काम सम्पन्न भएको बताए ।
यस्तै ४ वटा वडामा निर्माणाधीन अवस्थामा रहेको र अन्य ४ वटा अहिले पनि भाडाको भवनमा सञ्चालनमा आइरहेको उनले जानकारी दिए । उनले भने, ‘जनताको घरआँगनमा सेवा दिने उद्देश्यका साथ महानगर अघि बढेको छ ।’
जनतालाई शिक्षा र स्वास्थ्य घरघरमा पुर्याउन महानगर लागिपरेको उनको भनाइ थियो ।
महानगरपालिकाले हालसम्म वडा नम्बर ३, ४, १०, ११, १५, २१, २२, २३, २४, २५,२८ र २९ मा स्वास्थ्यचौकी र केन्द्रका लागि भवन निर्माण गरिसकेको छ । वडा नम्बर ५, ७, १३ र २० मा निर्माणाधीन अवस्थामा रहेको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख दीपक सुवेदीले बताए । उनका अनुसार वडा नम्बर २, ५, ९ र १२ मा भवन नभएपछि अहिले आश्रम, वडा कार्यालयका भवन तथा भाडाका घरमा कार्यालय राखेर सञ्चालन गरिएको छ ।