
ललितपुरस्थित खुमलटारकी पवित्रा लिम्बू घरअगाडि मेलम्ची खानेपानी आयोजनाको ट्याङ्की निर्माण हुने भएपछि मख्ख थिइन् । उनले सोचेकी थिइन् ट्याङ्की निर्माण भएपछि पानीको दुःख दूर हुनेछ ।
मेलम्ची खानेपानी आयोजना तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का हाकिमहरूले पनि वरिपरिका स्थानीयलाई पानी वितरण गर्ने बचन दिएका थिए । त्यसैको आशामा लिम्बुले ट्याङ्की निर्माण हुँदाको सास्ती, धुलो, हिलो र होहल्लालाई बेवास्ता गरिन् । पानीको हाहाकार अन्त्य हुने अपेक्षाअगाडि ती सबै अफ्ठेराहरू सामान्य थिए ।

नभन्दै ट्याङ्की निर्माण भयो । तर, पवित्राको आशा भने एकाएक निरासा परिणत भयो । केयुकेले बोली फेर्यो । खुमलटार क्षेत्र रिङरोडबाहिर रहेको भन्दै पानी वितरण नगर्ने केयुकेले जानकारी गरायो । ‘घरअगाडि यति ठूलो मेलम्चीको ट्याङ्की छ, हाम्रो भान्छामा खानेपानी छैन,’ उनी भन्छिन्, ‘ट्याङ्कीबाट पानी खेर गइरहेको हुन्छ, तर हामीले पाउँदैनौ ।’ उनले प्रत्येक महिना ६ हजार रुपैयाँसम्म खर्च गरेर पानी किन्नु परेको बाध्यता सुनाइन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बसोबास पनि यही क्षेत्रमा छ । पानी ट्याङ्कीबाट प्रचण्ड निवासको दुरी करीब डेढ/दुई सय मिटर छ । तर, प्रधानमन्त्रीकै छिमेकमा रहेका स्थानीयले पानीको समस्या भोग्नु परेको छ । ‘प्रचण्ड यही बाटो ओहोरदोहोर गर्नुहुन्छ, तर हाम्रोमा पानीको हाहाकार छ । उहाँले हेर्नुहुन्न । जो आए पनि उस्तै रहेछन्,’ लिम्बूले भनिन् ।
सोही क्षेत्रकी सुशीला राउतको गुनासो पनि उस्तै छ । ‘पानीको लागि धेरै दुःख पायौं । घरअगाडि ट्याङकी बनेको छ तर, हामीलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात ! बरु ट्याङ्की फुट्यो भने बगाएर कोटेश्वर पुग्ने अवस्था छ’ राउतले भनिन् ।

स्थानीय श्याम राउतले भोगेको पीडा पनि फरक छैन । अत्ति भएपछि पानीको समान समस्या भोगिरहेका पवित्रा, सुशीला र श्यामजस्तै तीन सय स्थानीय शनिवारदेखि आन्दोलनमै उत्रिन बाध्य भएका छन् । उनीहरूले शनिवार बिहान पानी ट्याङ्की क्षेत्रमा आन्दोलन गरेका छन् ।
ललितपुर महानगरपालिकाका १४, १५, २६ का स्थानीयले आफूहरूले पानी पाउनु पर्ने माग राख्दै आन्दोलन शुरू गरेका हुन् । ‘पानी ट्याङ्की निर्माण गर्दा हामी धेरै प्रभावित भयौं,’ राउतले भने, ‘अहिले उपेक्षा गरिएपछि बाध्य भएर संघर्ष समिति नै गठन गरेर आन्दोलन गर्न बाध्य भएका हौं ।’

उनीहरूले वडा नं १४ का अध्यक्ष अमृजजंग महत र १५ का अध्यक्ष सुरेजबहादुर शाही संयुक्त अध्यक्ष रहने गरी संघर्ष समिति गठन गरेका छन् । ‘यस क्षेत्रमा रहेका टोल विकास समिति तथा कार्यरत संस्थाहरूले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । वर्तमान खानेपानीको समस्यालाई सम्बोधन हुने गरी काम गर्ने समितिको तयारी छ’ उनले भने ।
हाल खुमलटार क्षेत्रका स्थानीयहरू टिकाभैरवबाट आएको खानेपानी पिउँदै आएका छन् । पानीको मुहान सुक्दै जाँदा र आवाधी बढ्दै जाँदा पानी अपर्याप्त भएको स्थानीयको भनाइ छ । ‘त्यो पनि कहिले आउँछ, कहिले आउँदैन । कहाँ र कति खेर आउँछ भन्ने नै हामीलाई थाहा छैन । वितरण पनि व्यवस्थित छैन’ राउतले भने ।
खुमलटार क्षेत्रका १८ सय परिवारले मेलम्चीको खानेपानी आफूले पाउनु पर्ने माग गर्दै आएका छन् । स्थानीय धनबहादुर राईले मेलम्चीको पानी रिङ रोडभित्र मात्रै वितरण गर्ने सरकारी नीतिले आफूहरूलाई अन्याय भएको गुनासो गरे । ‘रिङरोडबाहिर नदिने भए किन रिङरोडबाहिर हाम्रो क्षेत्रमा ट्याङ्की राखियो ?’ राईको प्रश्न छ, ‘यो संरचना निर्माण गर्दा ५ वर्ष धुलो खायौं, बाटोमा उस्तै सास्ती खपियो, तर अहिले हामीले पानी नदिने ?’

पानी नदिए आयोजनामा ताला लगाउन बाध्य हुने उनले चेतावनी दिए । ‘हामी पटक पटक केयुकेल, आयोजना कार्यान्वयन निर्देशनालय (पीआइए) मा पनि गयौं, ज्ञापन पत्र चढायौं तर सुनुवाइ भएन’ उनले भने, ‘टाउकोमा भरिएको गाग्रो बोकेर प्यासले प्याकप्याक भएर मर्नु पर्ने अवस्था छ हाम्रो ।’
मेलम्ची खोलाको पानी आरुबारी, महांकाल चौर, मीनभवन, अनामनगर बाँसवारी, बालाजु, महाराजगन्ज, खुमलटारलगायत ट्याङ्कीमा रिजर्भ गर्ने व्यवस्था गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार पहिलो चरणमा चक्रपथ क्षेत्रबाहिर पठाउने योजना रहेको छैन । मेलम्ची खानेपानीबाट दैनिक १७ करोड लिटर पानी राजधानीमा वितरण भइरहेको छ । पर्याप्त पानी हुँदा हुँदै पनि आफूहरूलाई पानी नदिइएको चक्रपथ बारिहका स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।