३२ असार २०८३, बिहीबार

डोटीलाई पुनः पूर्ण खोप सुनिश्चितता घोषणा

असार ५, २०८०
डोटी
डोटीलाई पुनः पूर्ण खोप सुनिश्चितता घोषणा
प्रतिकात्मक तस्वीर

डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

डोटीका सबै पालिका घोषणा गरेपश्चात सोमवार जिल्लालाई घोषणा गरिएको हो । डोटीलाई विक्रम संवत् २०७५ जेठ १९ गते पहिलोपटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गएिको थियो ।  सोही वर्षदेखि प्रत्येक वर्ष निरन्तर घोषणा गरिँदै आएको छ ।

जनस्वास्थ्यका विभिन्न कार्यक्रममध्ये खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. जगदीश जोशीले बताए ।

पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनुपर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिका जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीका उपसंयोजक एवं जिल्ला समन्वय समितिका उपसंयोजक स्मृति चुनारा विकले बताइन् । स्वास्थ्य नै धन हो भने सबैले स्वास्थ्य क्षेत्रमा योगदान दिनुपर्ने उनले बताइन् ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिं खड्काले सबै स्वास्थ्यकर्मीको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए । उनले देशका कर्णधार बालबालिकाले सही समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए । आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यसञ्चालन गर्नुपर्ने खड्काले बताए ।

डोटी जिल्लामा हाल २३६ खोप केन्द्रबाट प्रत्येक महिनाको ८ गतेदेखि १२ गतेसम्म र जिल्ला अस्पतालमा १५ गते नियमित खोप सेवा सञ्चालन हुँदै आइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्