
फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाको वैत्यश्वर नगरपालिका–३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका– १३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले पक्राउ गर्यो ।
प्रहरीले उनलाई जेठ १६ गते ललितपुर महानगरपालिका– ३ पुल्चोकबाट पक्राउ गरेको थियो । उनले फुर्पा शेर्पासहित ४ जनाबाट ४० लाख रुपैयाँ ठगी गरेको अभियोग छ ।
पाख्रिनले फ्रान्स जान प्रतिव्यक्ति १७ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारेर ४० लाख रुपैयाँ ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए ।
वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको थियो ।
....
सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको अभियोगमा जेठ १५ गते अपराध अनुसन्धान कार्यालयले नै एक जनालाई पक्राउ गरेको थियो ।
सर्लाहीको हरिवन नगरपालिका– ५ घर भई काठमाडौंको तीनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको हो ।
सर्बिया जान प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्छ भन्दै ४ जनाबाट १२ रुपैयाँ ठगी गरेका अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्बियामा कृषिमा काम लगाइदिने र पारिश्रमिक मासिक एक लाख रुपैयाँ हुने प्रलोभन देखाएर ठगी गरेको वैदेशिक रोजगार विभागमा परेको उजुरीमा उल्लेख छ ।
......
यसैगरी संयुक्त अरब इमिरेटस् (यूएई)को दुबईमा मासिक १ लाख तलब हुने भन्दै साढे ४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापाको दमक नगरपालिका– १० घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– ८ बस्ने ४५ वर्षीय मुनादेवी कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा उनलाई जेठ २२ गते काठमाडौं महानरपालिका– ११ बबरमहलबाट पक्राउ गरिएको थियो ।
अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार दुबईमा बाइक राइडरमा जागिर लगाइदिने बहानामा ठगी गरेको भन्दै उमेश श्रेष्ठले विभागमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीका अनुसार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीसम्बन्धी १६५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाले कुल १२ करोड ९२ लाख रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख थियो । त्यसमध्ये ५२ जनालाई कारवाही भइसकेको र ३ करोड ३४ लाख ४५ हजार रुपैयाँ असुलउपर गरेको एसएसपी डा. केसीले जानकारी दिए ।
‘घरको चुलो जलाउनका लागि वैदेशिक रोजगारीमा जान खोज्नेलाई ठग्नेहरूविरुद्ध कारवाही चलाएका छौं,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘उनीहरूको पीडा सुनिदिने कोही हुँदैन । त्यस्ताको पीडा प्रहरीले सुन्नुपर्छ भन्ने मलाई लाग्छ ।’
खाडी मुलुक जानका लागि पैसा बुझाउनेहरूलाई ठग्नेविरुद्ध कारवाही केन्द्रित रहेको उनको भनाइ छ ।
दैनिक १०० जनाको उजुरी आउँछः गुरुदत्त घिमिरे, वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार दैनिक सरदर एक सय जनाको उजुरी आउने गरेको छ ।
‘विदेशबाट इमेलमार्फत तथा भाइबरमा, विभागमै उपस्थित भएर तथा प्रहरीमार्फत आउने उजुरीको संख्या दैनिक १ सय हाराहारीमा छ,’ प्रवक्ता घिमिरेले भने । विभागमा आएका उजुरीहरू अधिकांश मिलापत्र गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताए ।
वैदेशिक रोजगार विभागको तथ्यांकमा आर्थिक वर्ष २०७९/८० को वैशाख महिनाको अन्त्यसम्ममा वैदेशिक रोजगारीसम्बन्धी ठगीका १ हजार ६२० उजुरी परेका छन्, त्यसमध्ये विभागले १६१ वटा मुद्दा दायर गरेको छ ।
२४९ वटा उजुरीका सम्बन्धमा मिलापत्र भएको विभागले जनाएको छ । अहिलेसम्म १८ करोड ७७ लाख रुपैयाँ बराबरको मिलापत्र गरेको प्रवक्ता सुवेदीले लोकान्तरलाई बताए ।
विभागका अनुसार भिजिट भिसामा गएकाहरूको २७ वटा उजुरी परेको छ भने ३ जनालाई विभागले उद्धार गरेको छ ।
विभागका प्रवक्ता सुवेदीका अनुसार खाडी जान खोज्दा ठगिएको भन्दै कम संख्यामा मात्र उजुरी आउने गरेका छन् ।
‘खाडी मुलुक जानेहरू पीडित भएको खण्डमा अधिकांश पठाउने संस्थाले नै मिलाउने भएकाले कमै आउने गरेका छन्,’ प्रवक्ता सुवेदीले लोकान्तरसँग भने ।