
सुरज पाण्डेको डेब्यु निर्देशकीय फिल्म ‘परस्त्री’को अहिले प्रचार–प्रसारको काम व्यापक रुपमा भइरहेको छ । फिल्मको निर्माण टिम अहिले प्रचार र भारतमा रिलिजको लागि मुम्बईमा छ ।
निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ फिल्मको प्रचार गरिरहेका छन् । आइतबार मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले ‘परस्त्री’ निर्माण टिमलाई एक कार्यक्रमकाबीच सम्मान तथा सत्कार गरेको छ ।
आइतबार नै फिल्मको निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै फिल्मको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्तक्रिर्या समेत गरेको थियो । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमाको छायाँकन निरज कँडेलले गरेका हुन्।

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् । जिजिए ग्रुप र डिसिएनले यस फिल्मलाई वितरण गर्दैछन् ।