
नेपाली फिल्म ‘दिमाग खराब’को छायांकन सकिएको छ ।
लामो समयपछि निर्देशनमा फर्किएका निर्देशक निश्चल बस्नेतले ३६ दिनमा फिल्मको छायांकन पुरा गरेका हुन् ।
सेड्युल (४० दिन) भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको फिल्मको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको हो ।
फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल लगायतको मुख्य भूमिका छ । स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चलको निर्देशनमा फिल्ममा काम गरेकी हुन् ।

आधा दर्जनभन्दा बढी म्युजिक भिडियोसँगै फिल्म ‘घामड शेरे’मा उनीहरूले एकसाथ अभिनय गरेका थिए ।
ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् ।
यस फिल्मको निर्मातामा रौनक विक्रम कँडेल रहेका छन् । निश्चलको कमब्याक फिल्म भएकाले ‘दिमाग खराब’लाई लिएर दर्शकमा अपेक्षा उच्च छ ।