
हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’ नेपालमा प्रतिबन्धित वान एक्स बेटको प्रचार गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।
गएको जेठ ३२ गते प्रहरीले ५ जना कलाकारसहित ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
‘बल्छी धुर्बे’ र ‘राजु मास्टर’ले चर्चित दुई टेलिसिरियल ‘जुठे’ र ‘हल्का रमाइलो’को लेखन, निर्देशन एवं त्यसमा अभिनय समेत गर्दै आएका थिए ।
उनीहरू पक्राउ परेपछि ‘हल्का रमाइलो’को प्रसारण रोकिएको छ ।
दुई साता अघिदेखि नै यसको नयाँ भाग प्रसारणमा आएको छैन । स्टक भाग नभएकाले सिरियलको प्रसारण रोकिन पुगेको हो ।
यता, ‘जुठे’ भने अहिलेसम्म नियमित प्रसारणमै रहेको छ । ग्रामीण क्षेत्रमा यस टेलिसिरियलको छायांकन हुँदै आएको थियो ।
एकपटकमा ४/५ भाग खिचिने भएकाले पनि ‘जुठे’को स्टक भाग रहेको र अहिलेसम्म नियमित प्रसारण भइरहेको हो ।