
‘मेशना डिजिटल’ नामक युट्युबमार्फत सात दिनअघि एउटा गीत सार्वजनिक गरियो । ‘नयाँ तीज गीत २०८०’ भनेर ‘जय शिव भोला’ बोलको गीत सार्वजनिक गरिएको थियो । यसमा पशुपति शर्मा र सुनिता बुढा क्षेत्रीको स्वर छ ।
तीन दिनअघि ‘गुडलक नेपाल’ युट्युब च्यानलमा ‘माइतीघरले’ शीर्षकमा गीत सार्वजनिक गरिएको छ । ‘तीज गीत २०८०’ भनेर सार्वजनिक गीतमा खुमन अधिकारी र शान्तिश्री परियारको स्वर छ ।
यी बाहेक युट्युबमा नयाँ भनेर सार्वजनिक गरिएका थुप्रै तीज गीतहरू छन्, जुन पुरानै हुन् ।
‘भावना म्युजिक सोलुसन’ युट्युबबाट सार्वजनिक ‘सारीमा सरर गाडीमा’ पनि पुरानै तीज गीत हो ।
लगानीकर्ताहरुले चलाखी गरेर नयाँ भन्दै पुरानै तीज गीत युट्युबमा सार्वजनिक गर्ने क्रम बढेको देखिएको छ ।
तीज आउन दुई महिनाभन्दा बढी समय हुँदा युट्युबमा गीत आउन थालेपछि कलाकारहरूले भने चिन्ता व्यक्त गरेका छन् । साउन नलाग्दै तीज गीत सार्वजनिक गर्न नैतिकताले नदिने धारणा कलाकारहरूको छ ।