२९ जेठ २०८३, शुक्रबार
अधिक तरलता

वाणिज्य बैंकहरूमा थुप्रियो ४ खर्ब बढी लगानीयोग्य रकम, साउनपछि कर्जा विस्तारमा आक्रामक हुने

असार २८, २०८०
काठमाडौं
वाणिज्य बैंकहरूमा थुप्रियो ४ खर्ब बढी लगानीयोग्य रकम, साउनपछि कर्जा विस्तारमा आक्रामक हुने

वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम (अधिक तरलता) अस्वाभाविक ढंगले बढेको छ । 

असारमा बढेको सरकारी खर्च, चालू आर्थिक वर्षको ब्यालेसन्सिट मेन्टेन गर्न रोकिएको कर्जा लगानी आदि कारणले वाणिज्य बैंकहरूमा तरलता थुप्रिएको हो । 

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सामान्यतया असार महिनामा बर्सेनि तरलता थुप्रिने गरेको बताउँछन् । गत वर्ष कम भएको तरलताको तुलनामा यो वर्ष उल्लेख्यरूपमा तरलता बढेको देखिएको केसीको भनाइ छ ।

उनका अनुसार २५ असारसम्ममा समग्र वाणिज्य बैंकहरूमा मात्रै यस्तो अधिक तरलता ४ सय अर्ब (४ खर्ब) रुपैयाँभन्दा बढी पुगेको छ । अहिले देखिएको अधिक तरलताले आगामी आर्थिक वर्षको नीतिलाई खुकुलो बनाउन सहयोग पुग्ने बुझाइ केसीको छ ।

चालू आर्थिक वर्षमा भने शुरूदेखि नै तरलता अभाव हुँदा बैंकहरूले अपेक्षाअनुसार कर्जा विस्तार गर्न सकेनन् । केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि १२ प्रतिशत कर्जा विस्तारको सीमा दिएको भए पनि असारसम्ममा पनि लक्ष्यको तुलनामा आधा मात्रै कर्जा विस्तार हुन सकेको छ ।  

चालू आर्थिक वर्षको अन्त्यमा थुप्रिएको यस्तो तरलताले अगामी आवमा (साउनपछि) ऋणको मागअनुसार लगानी गर्न बैंकहरूलाई सहज हुने पनि नेपाल बैंकर्स संघको भनाइ छ ।

अहिलेको तथ्यांकले गत वर्षको जस्तो तरलता अभाव आगामी आर्थिक वर्ष २०८०/८१ मा हुँदैन भन्ने अनुमान भइरहेको केसीले बताए । 

राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछि बैंकहरूले कर्जाको विस्तारलाई गति दिने छन् । लगानीसम्बन्धी केन्द्रीय बैंकको नीति हेरेर थप वातावरण बन्ने अपेक्षाले पनि असारमा कर्जा विस्तार कम हुने गरेको केसीको भनाइ छ ।

अहिलेसम्मको अवस्थाअनुसार आगामी आर्थिक वर्षमा तरलता सहज हुने अनुमान गर्न सकिन्छ ।

सरकारको पुँजीगत खर्च असारमै बढ्ने र यो वर्षको असारसम्ममा पनि अपेक्षाअनुसार ऋण प्रवाह हुन नसकेका कारण पनि अधिक तरलता थुप्रिएको नेपाल बैंकर्स संघले बताएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २४ असारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा ५७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

यस्तो निक्षेपमा अहिलेसम्मको कर्जा निक्षेपको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा बढी छ । वाणिज्य बैंकहरूले मात्रै ५० खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब १ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । 

अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.०३ प्रतिशत छ भने अन्तर बैंक ब्याजदर पनि १.३६ प्रतिशत मात्रै छ । सीडी रेसियो र अन्तर बैंक ब्याजदर तरलता जति धेरै थुप्रियो उति कम हुँदै जान्छ । 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल असार १२ पछाडि बैंकिङ प्रणालीमा तरलता बढेको बताउँछन् । १२ असारमा बैंकहरू दैनिक तरलता मेन्टेन गर्न पनि असहज अवस्थामा पुगेको भए पनि त्यसपछि तरलतामा बढेको उनले बताए । 

पछिल्लो समय तरलता बढेकै कारण अन्तरबैंक ब्याजदर एकै दिनमा ३ प्रतिशतबाट १.३६ प्रतिशतमा झरेको छ । बैंकहरूमा तरलता अभाव भएको समयमा अन्तरबैंक ब्याजदर ७ प्रतिशतसम्म पुगेको थियो । 

बैंकहरूमा जति तरलता बढ्यो उति नै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कम हुँदै जान्छ । दुई साता अगाडिसम्म बैंकहरूमा सीडी रेसियो मेन्टेन गर्न नपुग्ने रकम भएकाले अहिले अधिक तरलताका कारण ८८/९० प्रतिशत पुगेको सीडी रेसियो अहिले ८२ प्रतिशतमा झरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । अन्तरबैंक ब्याजदर घट्ने तथा बैंकहरूले पनि कर्जा लगानीमा प्रतिस्पर्धा गर्ने हुँदा ब्याजदर पनि घट्ने गरेको छ ।

राष्ट्र बैंकले धेरै रकम रिभर्स रिपोमार्फत फिर्ता पनि नलिएको हुँदा अहिलेको तथ्यांकले तरलताको अवस्था राम्रो देखाउँछ । यसले वित्तीय क्षेत्रलाई दबाब भने थपिएको छ । 

बैंकहरूको खराब कर्जाको दर बढेका कारण वित्तीय क्षेत्रलाई दबाब परिरहेको छ । 

निक्षेप थुप्रिनु, कर्जा विस्तार कम हुनु र खराब कर्जा बढ्नु वित्तीय क्षेत्रका लागि राम्रो नहुने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्