
भदौको ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जय हो’को गीत सार्वजनिक गरिएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण टिमले ‘जोमसोमको डाँडैमा’ शीर्षकको गीत सार्वजनिक गरेको हो ।
यो गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरूको अभिनय छ । केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, नीशा अधिकारी, माओत्से गुरुङ लगायतका कलाकारहरू भिडियोमा प्रस्तुत छन् । शम्भुजित बास्कोटाको शब्द एवं संगीत, दीक्षित पौडेलको एरेन्ज रहेको यस गीतलाई सुरेश लामा र अस्मिता अधिकारीले गाएका छन् ।
भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । सलोन-सलिना फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘जय हो’ शोभित बस्नेतको प्रस्तुति रहेको फिल्म हो ।
टेक पौरखी राईको निर्देशनमा तयार फिल्ममा राज के. अधिकारी र सुुरज सरकार निर्माताको रुपमा छन् ।
फिल्मलाई शौरभ लामाले खिचेका हुन् । कमेडी, एक्सन र लभस्टोरी समिश्रण यो फिल्म मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो । सोमवार सार्वजनिक गीतको भिडियोमा कलाकारहरू मुस्ताङी लुक्समा देखिएका छन् ।