
लागूऔषध नियन्त्रण ब्यूरोले कक्षा १२ को परीक्षा दिएर बसेकी १६ वर्षीया रोजिना (नाम परिवर्तन)लाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट पक्राउ गर्यो ।
अमेरिकाबाट आएको पार्सल हुलाक कार्यालयमा लिन आउँदा उनलाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि उनी अलमलमा परिन् । पहिले त उनले आफू किन पक्राउ परें भन्ने पनि थाहा पाइनन्, किनकि उनलाई अमेरिकाबाट आएको कपडा लिन भनेर पठाइएको रहेछ ।
उनको जागिर नै कार्गो कार्यालयमा आउने सामान संकलन गरेर आफूलाई जागिर दिने अफिसमा पुर्याउनु थियो ।
त्यसभित्र के थियो, किन आयो भन्ने कुरा उनलाई जानकारी थिएन । प्रहरीलाई पनि त्यसैअनुसार जवाफ दिइन् । तर, रिसिभ गरेको सामान गाँजा भएको कुरा प्रहरीले बताएपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।
सिन्धुपाल्चोक स्थायी घर भएकी उनी काठमाडौंको एउटा निजी कलेजमा पढ्छिन् । आफ्नो पकेट खर्च जुटाउनका लागि शुरूमा अनलाइनमार्फत जागिर खोजिदिने कार्यालयमा १०/१२ हजार रुपैयाँ तलबमा काम गर्दै आएकी थिइन् ।
‘कलेज पढ्ने विद्यार्थी भएकाले शुरूमा आफ्नो पकेट खर्च जुटाउनका लागि एउटा अफिसमा जागिर खाएको देखिन्छ,’ लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले बताए ।
उनले त्यो अफिसमा अनलाइनमार्फत जागिर खोज्ने व्यक्तिहरूको फोन उठाउने काम गर्दै आएकी थिइन् । त्यही क्रममा एक जना कामदार चाहिएको भन्दै उनलाई फोन आयो । आफ्नो काम नै त्यही भएकाले उनले आफूले कोही व्यक्ति पठाइदिने वाचा गरिन् । त्यसबापत उनले काम गर्दै आएको अफिसलाई केही कमिसन आउँथ्यो ।
उनले १७ वर्षीय रोहित (नाम परिवर्तन)लाई फोनमा कर्मचारी चाहियो भन्ने व्यक्तिसँग सम्पर्क गराइदिइन् । बेला–बेलामा कर्मचारी माग्ने बहाना उनलाई फोन आइरहन्थ्यो । एकदिन ती व्यक्तिले रोजिनालाई महिनाको २० हजार रुपैयाँ दिने र दैनिक काममा आउनु नपर्ने जागिर रहेको बताए ।
महिनामा ४/५ दिन मात्र काम गरे हुने र कार्यालय पनि नियमित जानु नपर्ने प्रलोभनमा परेर त्यहाँ जागिर खान गएको उनले बताएकी छन् ।
त्यो बेलासम्म फोन गर्ने व्यक्तिले रोजिना कलेज पढ्ने गरेको लगायतका व्यक्तिगत गतिविधि पत्ता लगाएको रहेछ ।
उनी असार ३१ गते आइतवार पहिलो दिनको कामका लागि भनेर ती व्यक्तिकोमा गइन् । उक्त अफिसका मालिकले २ हजार रुपैयाँ ट्याक्सी भाडा दिएर कार्गो कार्यालयमा सामान लिन पठाए ।
प्रहरीले रोजिनालाई त्यहीँबाट पक्राउ गरेको हो ।
रोजिनालाई पक्राउ गरेपछि प्रहरीले उनले भनेको व्यक्तिलाई पनि खोजी गर्यो । प्रहरीले आइतवार नै पर्साको धोबिनी गाउँपालिका– ५ का २७ वर्षीय फैजउल्लाह शाहलाई पक्राउ गरेको एसएसपी थपलियाले लोकान्तरलाई बताए ।
‘हामीले ती युवतीलाई नियन्त्रणमा लिएर उनीमार्फत फैज उल्लाहलाई पक्राउ गरेका छौं,’ एसएपी थपलियाले भने । पार्सल लिने बहानामा लागूऔषध रिसिभ गराउने उनको धन्दा नै रहको खुल्यो ।
थपलियाका अनुसार, साहले आईडी कार्ड बनाइदिने भन्दै नागरिकताको फोटोकपी र मोबाइल नम्बर लिएर अमेरिकास्थित तस्करहरूलाई पठाएका रहेछन् । अमेरिकाको क्यालिफोर्नियाबाट नेपालमा गाँजा पठाउने समूहले रोजिनाकै नाममा पठाएको पाइयो ।
प्रहरीका अनुसार उनले यसअघि अर्का एक युवकलाई प्रयोग गर्दै आएको पाइएको छ । अहिलेसम्म उनले कति जनालाई प्रयोग गरे भन्ने नखुलेको एसएसपी थपलियाले बताए ।
‘यसभन्दा अगाडि एक युवालाई प्रयोग गरेको खुलेको छ, तर अरू कति जनालाई रोजगारी दिने बहानामा प्रयोग गरे भन्ने विषय खुलेको छैन,’ एसएसपी थपलियाले भने ।
ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । ब्यूरोका अनुसार साह २ महिना अगाडि लागूऔषध गाँजा ४ केजीसहित पक्राउ परेका थिए ।
उक्त सामान आफ्नो नभएको बताएपछि उनी जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएका थिए ।
रिहा भएलगत्तै उनले पुनः धन्दालाई निरन्तरता दिएको पाइएको छ । उक्त गाँजा किलोको ३४ लाख रुपैयाँ पर्ने गरेको प्रहरीले जनाएको छ । भारतमा लगेर ५० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइएको थपलियाले बताए ।
ब्यूरोका प्रमुख एसएसपी थपलियाले पछिल्लो समयमा रोजगारीका बहानामा लागूऔषध तस्करहरूले ११/१२ पढ्ने युवायुवतीलाई प्रयोग गर्ने गरेको देखिएको बताए ।
‘प्लस टु पुस्तालाई प्रयोग गर्ने गरेको देखिएको छ । रोजगारीको बहानामा धेरै पैसा दिन्छुभन्दा सचेत हुनुपर्ने अवस्था छ,’ एसएसपी थपलियाले लोकान्तरसँग भने ।
यसभन्दा अगाडि खेलौना, मोबाइल, कपडालगायतका सामानको नाममा पार्सलमार्फत गाँजा आउने गरेको थियो । तर, यसपालि फेरि तस्करहरूले हुलाक प्रयोग गरेर तन्ना भन्दै गाँजा तस्करी गरेको देखिएको छ ।