वि.सं. २०६२ सालमा दुई वर्षका लागि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थित गर्ने भनेर सिसडोलमा ल्यान्डफिल्ड साइड निर्माण भएको थियो ।
‘छोटो समयका लागि हो, विकास निर्माण हुन्छ, सडक पूर्वाधार पनि बन्छ, अस्पताल बन्छ, राहत र सहयोग हुन्छ’ भनेपछि स्थानीयले मख्खै भएर ल्यान्डफिल्ड साइड निर्माण गर्न कुनै अवरोध गरेनन् ।
त्यतिबेला पहिलोपटक फोहोरको गाडी बोकेर आउँदा स्थानीयले पञ्चेबाजा बजाएर स्वागत गरे । तर, अहिले त्यही स्वागत अहिले सिसडोल र बञ्चरेडाँडाका स्थानीयलाई अभिशाप बनेको छ ।
‘हाम्रो स्कूल जाने उमेर थियो’ स्थानीय रामशरण घिमिरे भन्छन्, ‘फोहोरको गाडीलाई हामीले स्वागत गर्यौं, अहिले हामी स्वास पनि फेर्ने गाह्रो हुने अवस्था छ ।’
दुई वर्षका लागि भनिएको ल्यान्डफिल्ड साइड १७ वर्षसम्म प्रयोग भयो । त्यतिन्जेल फेरि सिसडोलभन्दा २ दुई किलोमिटर तल बञ्चरेडाँडामा अर्को ठूलो ल्यान्डफिल्ड साइड निर्माण गर्ने सरकारले निर्णय गर्यो ।
१८ महिनाअघिदेखि काठमाडौं उपत्यकामा उत्पन्न हुने एक हजारदेखि १२ सय टनसम्म फोहोर यी बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।
४६२ रोपनीको सिसडोलको ल्यान्डफिल्ड साइडले थाम्न नसकेपछि बञ्चरेडाँडामा १७ सय ९२ रोपनीको अर्को ल्यान्डफिल्ड साइड थपियो ।
अघिल्लो साल मात्रै यो ल्यान्डफिल्ड साइड सञ्चालनमा आएको हो । यहीबाट शुरू भए बञ्चरेडाँडाका स्थानीयको दशाका दिनहरू ।
फोहोरको गाडीलाई स्वागत गर्न पुगेका उनै रामशरण घिमिरेले फोहोरकै कारण आफ्ना दाइ गुमाउन पुगे । ‘दाइ बितेको आज ४५ दिन पुग्यो । प्रदूषित हावाका कारण क्यान्सर भयो,’ उनले भने ।
उनले कि बस्ती सार्नु पर्यो, कि फोहोर सार्नुपर्यो भन्दै सरकारसँग आक्रोश पोखे । ‘फोहोर र मानिससँगै रहन सक्दैन, यसलाई जसरी पनि सार्नुपर्यो,' उनले भने ।
फोहोरकै कारण यहाँका स्थानीयले घरपालुवा जनावर पनि गुमाइरहेका छन् । यता स्थानीय नारायण घिमिरे पनि फोहोरका कारण हैरान छन् । दुर्गन्ध र झिँगा भन्केर उनले खेप्नुसम्मको हैरानी खेपेका छन् ।
‘स्वास्थ्य हावामा बस्न पाउने हाम्रो अधिकार हो, जसलाई सरकारले हनन् गरेको छ,’ उनी भन्छन्, ‘यो समस्या समाधान नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं ।’
यता लकुकुमार घिमिरे काठमाडौं महानगरका मेयर बालेन शाहको चुनावअघि र पछि फेरिएको व्यवहारले छक्क पर्छन् ।
बालेनले चुनावअघि चुड्की बजाएर फोहोर व्यवस्थापन गर्ने बताए पनि अहिले वास्ता नगरेको गुनासो उनले गरे ।
‘उनले त्यहाँका जनतालाई सोच्दै गर्दा यहाँका जनताका लागि सोच्नुपर्दैन,’ उनी भन्छन्, ‘हामी यस्तो पीडामा बस्ने, सरकारलाई चाहिँ सफा चाहिने ।’
यही अप्ठ्यारोबीच ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका स्थानीयले साउन १ गतेबाट फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडी रोकेका छन् । उनीहरूले नुवाकोट र धादिङको सीमामा पर्ने ढाँडेबेसी पुलबाट फोहोरका गाडी अघि बढ्न दिएका छैनन् ।
ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईं स्थानीय नेतृत्व नै सडकमा उत्रिएकाले यो समस्या दीर्घकालका लागि समाधान हुनेमा आशावादी छन् । उनले फोहोर बोक्ने ठूला ट्रकको १५ सय र साना ट्रकको १००० रुपैयाँ फोहोर बोक्ने गाडीका लागि मात्रै लक्षित नभई ढुंगा गिटी बोक्ने गाडीका लागि पनि भएको बताए ।
‘काठमाडौं महानगरले हाम्रो पीडा नसुनेपछि हामी बाध्य भएर बजेट मै फोहोरको पैसा उठाउन लागिएको हो’ उनले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म यहाँ फोहोर फ्याँक्न दिदैँनौं ।’ यद्यपि यो निर्णय भने तत्कालका लागि कार्यान्वयन नगर्ने उनले बताए । ‘हामी पटक-पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि भेट्न गर्यौं तर समस्या समाधान गर्ने प्रयास भएन, हाम्रा अन्तिम विकल्प हामीले प्रयोग गरेका हौं,’ उनले भने ।
हेर्नुहोस्, भिडियो :
फोटो/भिडियो : प्रकाश बुढाथोकी / लोकान्तर