१८ असार २०८३, बिहीबार

वडाध्यक्षले आफ्नो सेवासुविधाबाट गराइदिए विपन्नको निःशुल्क स्वास्थ्य बीमा

साउन ६, २०८०
चितवन
वडाध्यक्षले आफ्नो सेवासुविधाबाट गराइदिए विपन्नको निःशुल्क स्वास्थ्य बीमा
प्रतिकात्मक तस्वीर

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बीमा गरिदिएका छन् । 

आर्थिक वर्ष २०७९/८० मा उनले आफूले पाउने पारिश्रमक बापतको सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएका हुन् ।

वडाध्यक्ष उप्रेतीले शुक्रवार गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बीमा बोर्डलाई २ लाख १३ हजार ५०० रुपैयाँको ‘चेक’ हस्तान्तरण गरे । सो अवसरमा उनले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुसार आफूले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिएको बताए ।

उनले भने, ‘स्वास्थ्य बीमा गर्न नसक्दा यहाँका विपन्न नागरिक सामान्य बिरामी हुँदासमेत चन्दा माग्दै हिँड्नुपर्ने बाध्यता छ, मैले निर्वाचनकै बेला सेवासुविधा नलिने घोषणा गरेको थिएँ, सोहीअनुसार आज विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छु ।’

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनप्रतिनिधिको हैसियतले गरिएको यो नमूना काम भएको जनाउँदै नागरिकसँग जोडिने काम गरेकामा धन्यवाद दिए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जनताको चाहना अनुसार काम गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्