
टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । राजधानीमा आइतवार एक कार्यक्रमको आयोजना गर्दै शोको घोषणा गरिएको हो ।
साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने कार्यक्रममा जानकारी दिइएको छ ।
रियालिटी शोलाई फिल्म लेखक, कोरियोग्राफर एवं फाइट डिरेक्टर समेत रहेका नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनले भने, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरूका लागि महा गफाडी उपयोगी र नवीन प्लेटफर्म साबित हुनेछ ।’
ढाकाटोपी फिल्मसको ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजक कम्पनीले दिएको छ । तर प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । निर्माण कम्पनीका अनुसार सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गर्नुपर्नेछ ।
यो रियालिटी शोको अडिसन डिजिटल प्लेटफर्ममा मात्रै गरिनेछ । फिजिकल रुपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अस्ट्रेलियामा गरिनेछ, भने पहिलो वल्र्डटुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजक संस्था ढाकाटोपी फिल्मसले दिएको छ ।
‘महागफाडी’को निर्णायक मण्डलमा वरिष्ठ हास्य-व्यङ्ग्य कवि शैलेन्द सिंखडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । अभिनयबाट गुमनाम रहेका कामेश्वर यही शोबाट टेलिभिजनको पर्दामा देखिँदैछन् ।
‘महागफाडी’को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्ट रनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेन्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौ हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।
दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा ‘माई पे’ रहेको छ । कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन् । चाँडै ‘महागफाडी’ प्रसारण हुने टेलिभिजन च्यानल र डिजिटल पार्टनर सार्वजनिक गर्ने तयारी आयोजकको छ ।