
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक भएको छ ।
साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन ४ एपिसोडको हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।
वीरगन्जमा छायांकन गरिएको यस सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रमाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलीप नेपालको अभिनय छ ।
प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलिज गरिनेछ । अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।
यस सिरिजको ट्रेलर ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । विश्वभरिबाट जुनसुकै डिभाइसमा पनि अनलाइन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताइएको छ ।