
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्सले काठमाडौंमा तीन दिने विशेष तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त यो नेपालकै पहिलो 'कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट' तालिम हो।
निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजित तालिम असार ८ देखि १० गतेसम्म सञ्चालन भएको थियो। परामर्श तथा निर्माण क्षेत्रमा आबद्ध सरकारी विभाग, मन्त्रालय र परियोजनाका सरोकारवाला निकायहरू (नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायी)को व्यावसायिक क्षमता बढाउने उद्देश्यका साथ FIDIC Red Book 2017 अन्तर्गत ठेक्का व्यवस्थापन विषयमा यो तालिम सञ्चालन गरिएको हो।
नेपाल इन्जिनियरिङ परिषद्बाट मान्यता प्राप्त यस्ता सीपीडी तालिमहरूमा सहभागी भएर इन्जिनियरहरूले 'CPD hours' (अङ्क) प्राप्त गर्न सक्छन्। यो अङ्कले इन्जिनियरहरूको व्यावसायिक दक्षता कायम राख्न, उनीहरूको व्यावसायिक दर्ता तथा इजाजतपत्र (लाइसेन्स) नवीकरणसम्बन्धी आवश्यक सर्तहरू पूरा गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इन्जिनियरिङ मापदण्डहरूसँग अद्यावधिक रहन मद्दत पुर्याउँछ।
यस पहिलो तालिमले सहभागीहरूलाई उक्त अङ्क प्राप्त गर्ने अवसर दिनुका साथै उनीहरूको व्यावसायिक ज्ञान, सीप र गुणस्तरीय इन्जिनियरिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
भव्य समापन र नेतृत्व काठमाडौँको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा असार १० गते (२४ जुन) यस तालिमको औपचारिक समापन गरिएको थियो। समापन समारोह SCAEF नेपालका अध्यक्ष इ. ठाकुरप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमको सुरुवात SCAEF नेपालकी महासचिव इ. मन्दाकिनी कार्कीको स्वागत मन्तव्यबाट भएको थियो भने व्यावसायिक विकास तथा क्षमता अभिवृद्धि उपसमितिका संयोजक इ. आशय ओझाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
तालिममा नेपाल इन्जिनियरिङ परिषद् (NEC) का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाही र नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) का वरिष्ठ उपाध्यक्ष रामजी पन्त (मुकेश) विशेष अतिथिका रूपमा उपस्थित थिए ।
अनुभवी प्रशिक्षक र विविध क्षेत्रका सहभागी तालिममा इ. मनोज कुमार शर्मा, प्रा. खेमनाथ दल्लाकोटी, इ. ज्ञानेन्द्र कायस्थ, इ. सुनील कुमार ढुङ्गेल, इ. कृष्णराज पन्त, इ. मनोज कुमार यादव र इ. जगन्नाथ गौतमले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधिहरू, नियोक्ताका पदाधिकारीहरू, परामर्शदाता, निर्माण व्यवसायी, परियोजना व्यवस्थापक, र खरिद तथा करार प्रशासनसँग सम्बन्धित पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।