०३ असार २०८३, बुधबार

आज हुने भनिएको सीटीईभीटीको प्रवेश परीक्षा अकस्मात स्थगित, के हो कारण ?

साउन २०, २०८०
काठमाडौं
आज हुने भनिएको सीटीईभीटीको प्रवेश परीक्षा अकस्मात स्थगित, के हो कारण ?

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न विषयको लागि आज शनिवारदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको छ । 

सीटीईभीटीले शनिवार र बुधवारका लागि निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रवार सूचना जारी गरी स्थगित गरेको सीटीईभीटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिए ।

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीले परीक्षा स्थगित गरी परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो । आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सीटीईभीटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न शिक्षा मन्त्रालयमा बुधवार र बिहीवार बैठक बसेको थियो । 

बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले २ संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि सोही अनुरुप आगामी १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरी हाललाई परीक्षा स्थगित गरेको बताइएको छ । 

सीटीईभीटीले विगतका वर्षमा जस्तै प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिस्टेण्ड, डेन्टल हाइजेनिस्ट लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा सञ्चालन गर्ने, परीक्षाफल सार्वजनिक गर्ने लगायतका कार्य गर्दै आएको छ । आयोगले भने चिकित्सा शिक्षा ऐन विपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षण संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने भर्ना आह्वान गर्ने, चिकित्सा शिक्षाको नियमन गर्ने अधिकार आयोगको मात्रै रहेको जनाउँदै आएको छ । 

सीटीइभीटीले आयोगसँग समन्वय नगरी ऐन विपरित सम्बन्धन दिने, भर्ना आह्वान गर्ने, सिट निर्धारण गर्ने, शुल्क निर्धारण गरेको भन्दै आयोगले असहमति जनाएपछि २ संस्थाबीच विवाद चर्किंदै आएको थियो ।

सीटीईभीटीले आफ्नो संस्थाअन्तर्गत रहेका ४९ प्राविधिक कलेज र गत वर्ष आयोगले सिट निर्धारण गरेका १४९ कलेजमा यस वर्ष भर्ना आह्वान गर्दै सूचना सार्वजनिक गरेपछि आयोगले ऐन विपरीत गरेको भन्दै आपत्ति जनाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्