०९ साउन २०८३, शनिबार
करिब सय किलो सुन बरामद प्रकरण

सुन प्रकरणको अनुसन्धान जिम्मा सीआईबीलाई दिन कानूनी जटिलता, निकास खोज्दै सरकार

साउन २१, २०८०
काठमाडौं
सुन प्रकरणको अनुसन्धान जिम्मा सीआईबीलाई दिन कानूनी जटिलता, निकास खोज्दै सरकार

करिब १०० किलो सुन बरामद प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने विषयमा कानूनी जटिलता उत्पन्न भएको छ । कानूनी निकास खोजेर मात्रै सुन प्रकरणको अनुसन्धान सीआईबीलाई हस्तान्तरण गरिने राजश्व अनुसन्धान विभागले जनाएको छ । 
 
सुन प्रकरणको अनुसन्धान गरिरहेका राजश्वका अनुसन्धान अधिकृत विनोद लामिछानेले चिठीपत्रका आधारमा मात्रै सीआईबीलाई अनुसन्धान सुम्पिन नसकिने बताए । ‘यो जटिल विषय हो । पत्रकै आधारमा मात्रै बुझाउने भन्ने हुँदैन,' उनले भने, 'यसको कानूनी निकास खोजेर मात्रै हस्तान्तरण हुन्छ,’ लामिछानेले लोकान्तरसँग भने । 

यसअघि सरकारले सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिने तयारी गरेक‌ो थियो । गत बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीसहित सीआईबी प्रमुखसँगको छलफलमा सुन प्रकरणको अनुसन्धानका लागि तयार रहन निर्देशन दिएका थिए । 

विभागले महान्यायाधीवक्ताको कार्यालयमार्फत् निर्णय गराएर बुझाउने भन्ने विषयमा अध्ययन र छलफल गरिरहेको जनाएको छ । यसमा विभिन्न कार्यालयहरूको संलग्नता, पक्राउ परेका अभियुक्त, समय सीमा, बरामद भएका दसीलगायतका विषयहरू हस्तान्तरण गर्नु पर्ने भएकाले जटिल भएको विभागको दाबी छ ।

विभागले असार २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० केजी सुन बरामद गरेको थियो । विभागले प्रकरणमा जोडिएका १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छ । 

विभागको अनुसन्धानमा अहिलेसम्म हङकङबाट सुन आएको देखिएको छ। तर त्यसका मुख्य अभियुक्तसम्म पुग्न सकेको छैन ।

राजस्व अनुसन्धान विभागले हालसम्मको अनुसन्धान फाइल प्रधानमन्त्री प्रचण्डलाई बुझाएर मात्रै सीआईबीलाई दिने तयारी रहेको स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्