![प्लटिङवालाको बदमासीले पहिरो: घरमाथिबाट भल तेर्स्याइदिँदा बाउछोरीले गुमाए ज्यान [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Landslide_1_Dc9k2HMN8n.jpg)
बाबुछोरीको ज्यान जाने गरी शनिवार राति काठमाडौंको तारकेश्वर नगरपालिकामा गएको पहिरोमा प्लटिङवालाको बदमासी मुख्य कारण रहेको पाइएको छ ।
प्लटिङलाई जोगाउन घरतर्फ भल सोझ्याइदिँदा पहिरो गएको स्थानीयले बताएका छन् । घटनास्थलमा पुग्दा पनि भल सोझ्याइएको दृश्य प्रस्टै देखिन्छ ।

तारकेश्वर– ५ चोगाउँमा शनिवार गएको पहिरोले घर पुर्दा नुवाकोट स्थायी घर भएकाले गणेश तामाङ र उनकी छोरी आश्मा तामाङको मृत्यु भएको थियो ।
गणेशकी श्रीमती गम्भीर घाइते छिन् । हाल उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहको छ ।

गणेश बस्ने घरको करीब २ सय मिटरमाथिबाट पहिरो शुरू भएको देखिन्छ ।

प्लटिङवालाले आफ्नो जग्गा जोगाउन गणेशको घरभन्दा ठीक माथिबाट पानीको भल कटाइदिएको स्थानीयबासिन्दा बताउँछन् ।
भर्खर खनेको सडक र खुकुलो माटोमा भल बग्दा घरमाथिबाट पहिरो गएको देखिन्छ । ठाडो भीरमा गएको पहिरोले गणेशको घर पुरेको छ ।

पहिरो गएपछि आफ्नो बदमासी छोप्न भललाई फेरि थुनेको देखिन्छ ।
यसबारे गणेशका आफन्तले प्रहरी र स्थानीय तहसम्म कुराकानी पनि गरेका थिए । तर, प्लाटिङवालाई कारवाही गर्न न त स्थानीय सरकार तम्सियो, न प्रहरी प्रशासन नै । गणेशका आफन्त कृष्ण तामाङले प्लटिङवालाको बदमासीबारे कुरा उठाए पनि प्रशासनले वास्ता नगरेको गुनासो गरे ।
‘हामीले स्थानीय तह र प्रहरीसँग कुरा गर्यौं, तर प्लाटिङवालालाई कारवाही गर्ने छाँट देखिएन,’ उनले भने ‘त्यही भएर हामीले उजुरी गरेनौं, अनि पोस्टमार्टमका लागि तयार भयौं ।’
हेर्नुहोस्, भिडियो :