
१ वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ ।
अध्यक्ष पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेश गर्न आह्वान गरिएको छ ।
आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम प्रभावित छन् । अध्यक्षका लागि २०७९ भदौ २८ गते नै सूचना प्रकाशन भई ‘सर्टलिस्ट’ तयार गरिए पनि प्रक्रिया रद्द गरी हाल पुनः सूचना प्रकाशन गरिएको हो ।
उपकूलपतिको कार्यकाल ३ महिना बाँकी
यसैबीच त्रिविको उपकूलपति रिक्त हुनुअगावै नयाँ उपकूलपति चयन गर्न प्रधानमन्त्री एवं कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरिएको छ । वर्तमान उपकूलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल आगामी कात्तिक १६ गते सकिँदैछ ।
उपकूलपति बाँस्कोटाले आफ्नो ३ महिना कार्यकाल बाँकी रहँदा साउन १६ गते प्रधानमन्त्रीलाई लिखित जानकारीसहित ठूलो संरचना भएको संस्था भएकाले पूर्व तयारीका साथ व्यक्तिको छनोट गरेमा नयाँ नेतृत्वलाई सहज हुने अवगत गराइएको बताए ।