२९ जेठ २०८३, शुक्रबार
सर्पदंशको त्रास

तराईमा सर्पको बिगबिगी : उपचार केन्द्र बने, तर बिरामीले पर्याप्त उपचार पाएनन्

साउन २४, २०८०
बुटवल
तराईमा सर्पको बिगबिगी : उपचार केन्द्र बने, तर बिरामीले पर्याप्त उपचार पाएनन्

तराईमा सर्पको बिगबिगी भइरहेका बेला पश्चिम नवलपरासीको सुनवल जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयमा रहेको सर्पदंश केन्द्रको उपचार सेवा बन्द छ ।

तीन वर्षअघि निर्माण भएको केन्द्रमा आवश्यक पर्ने औषधि नभएपछि सेवा दिन नसकिएको महाविद्यालयले जनाएको छ । 

सर्पदंशको उपचार केन्द्र नहुँदा स्थानीयको ज्यान जोखिममा परेको भन्दै तत्कालीन नगर प्रमुख भीमबहादुर थापाको पहलमा नगरपालिकाले २५ लाखको लागतमा सर्पदंश उपचार केन्द्र निर्माण गरेको थियो । 

आवश्यक पर्ने औषधि नगरपालिकाले उपलब्ध गराउने सहमतिअनुसार महाविद्यालयले डाक्टर र एम्बुलेन्सको व्यवस्था गरेको छ । तर, अहिले डाक्टर भए पनि औषधि नभएका कारण उपचार सेवा दिन नसकिएको महाविद्यालयका एसपी भोलाबहादुर रावलले बताए । गत वर्ष सर्पले डसेका ५७ जना बिरामीको उक्त केन्द्रमा उपचार गरिएको थियो । 

यस्तै तीन वर्षअघि प्यूठानमा स्थापना भएको सर्पदंश उपचार केन्द्र सञ्चालन नहुँदा बिरामीहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था बढ्दै गएको छ ।

जलवायु परिवर्तन तथा विभिन्न कारणले तराईका विषालु सर्पहरू पहाडतर्फ उक्लिन थालेपछि स्वर्गद्वारी नगरपालिका– ९ मा उपचार केन्द्र स्थापना भएको थियो । उपचार नपाएर गएको असारमा प्युठान नगरपालिका वडा नम्बर–४ का १३ वर्षीय बालकको सर्पको टोकाइबाट मृत्यु भएको छ । असार अन्तिम साता प्यूठान– १ का दुईजना बालबालिकाकालाई नेपालगञ्ज पुर्‍याएर बचाउन सफल भएको स्वास्थ्य कार्यालय प्युठानकी निमित्त प्रमुख डा. प्रमिला खनालले बताइन् ।  

यसै साता कपिलवस्तुको गोरूसिंगे सर्पदंश अस्पतालमा उपचार हुन नसकेपछि जिल्लाको मायादेवी गाउँपालिका– ३ का २ वर्षीय बालक सूर्य बरईको ज्यान गयो ।

असारमा पनि कपिलवस्तुमा दुई बालकसहित एकैदिन सर्पले टोकेर ४ जनाको ज्यान गएको थियो । गोरूसिंगेमा पर्याप्त सेवा नहुँदा उनीहरूलाई बुटवल ल्याउँदै गर्दा मृत्यु भएको हो । वर्षायामसँगै तराई/मधेशमा विषालु सर्पको बिगबिगी छ । तर, धेरै ठाउँमा उपचार केन्द्र छैन भने भएको ठाउँमा पनि औषधि र उपकरण नभएपछि टाढाको अस्पताल पुर्‍याउनु पर्दा ज्यान गइरहेका छन् । 

स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशका अनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशमा सर्पदंशबाट ३० जनाको मृत्यु भएको छ ।

यो अवधिमा ५६२ जनालाई सर्पले डसेको स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र पाल्पामा सर्पको टोकाइ उच्च छ । 

रूपन्देहीमा ३४६ जनालाई सर्पले टोकेकोमा १२ जनाको मृत्यु भएको छ । बाँकेमा ९९ जनालाई सर्पले टोकेकोमा ८ जनाको मृत्यु भएको छ । यस्तै, दाङमा सर्पले टोकेर १ जनाको मृत्यु भएको छ । कपिलवस्तुमा १५ जनालाई सर्पले टोकेकोमा ५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तैगरी, बर्दियामा ५ जनालाई टोकेकोमा १ जनाको मृत्यु भएको छ । प्यूठानमा ३ जनालाई टोकेकोमा १ जनाको मृत्यु भएको छ ।

त्यस्तै नवलपरासी पश्चिममा ४ जनालाई सर्पले टोकेकोमा १ जनाको मृत्यु भएको छ । पाल्पामा ३३ जना, गुल्मीमा ३ जना, रोल्पामा ८ जनालाई सर्पले टोकेकोमा उपचारपछि निको भएका छन् । 

अस्पताल नपुग्दै धेरैको मृत्यु 

लुम्बिनी प्रदेशमा १४ वटा सर्पदंश उपचार केन्द्र रहेका छन् । जसमध्ये ३ वटा नेपाली सेना र एउटा स्थानीय तहले नेतृत्व गरेका छन् । 

बाँकी भने अस्पताललाई नै सर्पदंश उपचार केन्द्रका रूपमा विकास गरेर सञ्चालन गरिएको छ । सर्पदंश उपचार केन्द्रहरू सञ्चालनमा भए पनि घरमै वा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुने संख्या धेरै देखिएको छ । 

पाण्डेका अनुसार एक वर्षमा सर्पदंशबाट मृत्यु भएका २८ जनामध्ये १५ जनाको अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको छ । रूपन्देहीमा सर्पले टोकेर मृत्यु भएका १२ जनामध्ये ४ जनाको अस्पताल ल्याउन नपाउँदै मृत्यु भयो ।

बाँकेमा ८ जनामध्ये ५ जनाको, कपिलवस्तुमा ५ जनामध्ये ४ जनाको, नवलपरासी पश्चिम र बर्दियामा एक/एक जनाको बाटोमै मृत्यु भएको छ ।  

छिटो अस्पताल पुर्‍याए जोगाउन सकिन्छ ज्यान 

सर्पले डसेपछि अस्पताल पुर्‍याउन ढिलाइ हुँदा विष शरीरमा फैलिएर धेरैजसो  बिरामीको मृत्यु हुने गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्र राना बताउँछन् । 

‘समुदायमा सर्पले डसेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने जनचेतनाको अभाव छ । अस्पताल आउँदा उहाँहरू विष चढिसकेको अवस्थामा आइपुग्नुहुन्छ । बिरामीको अवस्था नाजुक भएको हुन्छ,’ उनले भने, ‘सर्पले डस्नेबित्तिकै होसियारी अपनाउने र समयमै नजिकको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ ।’ 

भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट डा. कृष्णप्रसाद आचार्यले मनसुन सक्रिय भएपछि सर्पदंशका बिरामी बढेको बताए । 

जेठदेखि कात्तिकसम्म सर्पदंशको जोखिम बढी हुने र विगतको भन्दा अहिले उपचारको सुविधा पनि बढ्दै गएको उनले बताए ।

डा.आचार्यका अनुसार विषरहित सर्पले टोकेमा १० देखि १२ घन्टासम्म बिरामीलाई निगरानीमा राखिन्छ । विषालु सर्पले टोकेमा तत्काल उपचार आवश्यक हुन्छ ।

कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नवीन भण्डारीका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मृत्यु हुने क्रम बढेको छ ।

पहाड चढ्दै विषालु सर्प 

तराई क्षेत्रमा मात्र पाइने विषालु सर्पहरू पछिल्लो समय पहाडी जिल्लाहरूमा पनि देखिन थालेका छन् । विषालु सर्प पहाडी भेगमा पनि देखिन थाल्दा उपचार केन्द्रको थप विस्तार आवश्यक देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए ।

सर्पदंशबाट हुने मृत्यु रोक्न प्रदेशमा रहेका अस्पताल तथा सर्पदंश उपचार केन्द्रमा भ्याक्सिन, दक्ष जनशक्ति लगायतको व्यवस्था गरिएको उनले बताए । लुम्बिनी प्रदेशमा सर्पदंशमा प्रयोग हुने एन्टीस्नेक भेनम प्रशस्त रहेको डा. पौडेलले जानकारी दिए ।

उनले सर्पको टोकाइबाट बच्नका लागि विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि गरिएको जनाए । सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । गाउँघरतिर सर्पले टोकेपछि अस्पताल पुर्‍याउनुको साटो झारफुक गर्न धामीझाँक्री खोज्ने चलन हट्न सकेको छैन ।

अझै पनि करीब ५ देखि १० प्रतिशत बिरामी पहिला धामीझाँक्रीकोमा र त्यसपछि अन्तिम स्थितिमा मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् ।

यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले अकालमा ज्यान गुमाउनु परेको छ ।

सर्पले डसेपछि डसेको भागमा रबर तथा डोरीले रगत सञ्चालन नै नहुने किसिमले धेरै दिनसम्म बाँधिराख्ने र लामो समयसम्म उपचार नगरी बस्ने गरेका कारण कतिपय अंगभंग नै हुने गरेको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरूका अनुसार रक्तनलीलाई धेरै बाधा नपुर्‍याई सामान्य पट्टी बाँधेर बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । नेपालमा हालसम्म पाइएका ८९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका सर्प विषालु छन् ।

यसमा गोमन, करेत, रसेल भाइपरलगायत पर्छन् । नेपालमा सबैभन्दा बढी गोमन र करेतले डस्ने गरेको तथ्यांक छ ।

salt training

कमेन्ट गर्नुहोस्